अपराध सुरक्षा अर्थ

एक महिना मै ३५ करोड कमाउन खोज्दा गुम्यो जीवनभरको कमाइ

एक महिना मै ३५ करोड कमाउन खोज्दा गुम्यो जीवनभरको कमाइ

फागुन ५ । डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जालमात्र थियो भन्ने गुरुङले पत्तै पाएनन् ।

एक महिनामै ३५ करोड कमाउन खोज्दा  उनले दुई करोडको घर गुमाएका छन् ।

दक्षिण कोरियामा १७ वर्षदेखि काम गर्दै आएका गुरुङले विदेशकै कमाइले पोखरामा घर किनेका थिए । तर, रातारात करोडौँ कमाउन खोज्दा एकैपटक उनको वर्षौँको कमाइ गुमेको हो । ८६ करोड रुपैयाँको चिट्ठा परेको भन्दै एक युवकले उनको एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । उनको दुई करोड पर्ने घरसमेत अर्कैको हातमा पुगेको छ ।

लमजुङ घर भई महाराजगन्ज बस्ने सोयम ‘यमराज’ गुरुङले आफूलाई ८६ करोडको चिट्ठा परेको र त्यसको ३५ करोड रुपैयाँ दिने भन्दै उनको घरसमेत बेच्न लगाएर एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । सोयमलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

वृत्तका प्रमुख डिएसपी गोविन्द पुरीका अनुसार सोयमले आफू अन्तर्राष्ट्रिय फेसन डिजाइनर भएको भन्दै भ्रममा पारेर ठगी गरेका हुन् । अमेरिकाको अन्तर्राष्ट्रिय फेसन डिजाइनसम्बन्धी प्रतिस्पर्धामा आफू प्रथम भएको र ८६ करोड रुपैयाँ आउने भन्दै सोयमले बेलबहादुरलाई झुक्याएका थिए । सो पैसा नेपाल ल्याउन आफूलाई खर्च अभाव भएको भन्दै नाटकीय शैलीमा सोयमले ठगी गरेका हुन् । सोयमले दुई करोड सहयोग गरे ३५ करोड रुपैयाँ दिने बताएपछि बेलबहादुर लोभिएका थिए ।

सोहीअनुसार पोखरास्थित दुई करोड पर्ने घर गत असोजमा बिक्री गरी बेलबहादुरले सोयमलाई पैसा दिएका थिए । तर, सोयमले चिट्ठा परेर फेसन डिजाइनको प्रतिस्पर्धा जितेको कुरा गलत भएको र पैसा पनि फिर्ता नगरेपछि उनले प्रहरीमा उजुरी दिएका हुन् ।

दुई साताअघि सोयमलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए ।

नयाँ पत्रिका

Thagi

विशेष