अर्थ कर्पोरेट

तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा वितरण

तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा वितरण
फागुन - ५ । तनहुँ जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई एक करोड २४ लाख ३२ हजार मुआब्जा वितरण गर्न थालिएको छ। आयोजनाले आजदेखि मुआब्जा वितरणको प्रक्रिया सुरु गरेको हो। पहिलो दिनमा नै १७ प्रभावित घर परिवारलाई कामु प्रजिअ फणीन्द्रमणि पोखरेलले जामुनेकी ५१ वर्षीया रामप्यारी रानाभाटलाई नौ लाख ५६ हजार ९ सय रुपैयाँ वितरण गरेर थालनी गरे। आयोजना प्रभावितलाई निरन्तर रुपमा मुआब्जा वितरण गरिने आयोजनाका सञ्चारविज्ञ सचेन गौतमले जानकारी दिए। कुल १४० मेगावाट क्षमताको सो आयोजनाका लागि प्रभावित क्षेत्र घरजग्गा, टहरा, रुखबिरुवा, फलफूल तथा खेत गरी एक हजार दुई सय २२ रोपनी जग्गाधनीलाई मुआब्जा वितरण गरिने छ । आयोजनाबाट तनहुँका भीमाद, कोटदबार, व्यास नगरपालिका, जामुने भन्ज्याङ, छाङ, रिसिङ, रानीपोखरी, माझकोट, काँहुशिवपुरलगायत क्षेत्र प्रभावित हुनेछन्। आयोजनाले न्यूनतम दुई लाखदेखि अधिकतम आठ लाखसम्म मुआब्जा वितरण गर्ने तयारी गरेको छ। पाखोबारी तथा खेतको फरक फरक मूल्य निर्धारण गरिएको छ। यसैबीच आयोजना निर्माणका लागि आज नै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको छ। आउँदो अक्टोबर (असोज–कात्तिक) सम्ममा ठेक्का सम्झौता गरेर आयोजनास्थलमा ठेकेदार परिचालन गर्ने तयारी आयोजनाको छ । पहिला खण्डमा आयोजनाको मुख्य बाँध तथा नदी फर्काउनका लागि अस्थायी बाँध निर्माण र दोस्रामा विद्युत्गृह, सुरुङ निर्माणका अतिरिक्त हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि बोलपत्र आह्वान गरिएको सञ्चारविज्ञ गौतमले जानकारी दिए। पहिला चरणमा आयोजनाको मुख्य बाँध र नदी फर्काउन अस्थायी बाँध निर्माणका लागि भारतको जयप्रकाश एसोसिएट्स लि, सोङदा कर्पोरेसन, कालिका कन्ट्रक्सन जेभी, एससिसी डोकास इन्ट्रिग्रेटेड, चाइना गेजुवा ग्रुप लि र सिएमसी डी रेभेना इटालीले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । त्यसमा एसियाली विकास बैंक र युरोपियन इन्भेस्टमेन्ट बैंकको लगानी हुनेछ।

तनहुँ जलविद्युत् आयोजना मुआब्जा मुआब्जा वितरण

विशेष