अपराध सुरक्षा

करोडौं मूल्यको चरेससहित पाँचजना पक्राउ

करोडौं मूल्यको चरेससहित पाँचजना पक्राउ
फागुन - ६ । अन्तर्राष्ट्रिय बजारमा करोडौं मूल्यपर्ने ठूलो परिमाणका लागुपदार्थ चरेससहित पक्राउमा परेका पाँचजनालाई शुक्रबार अपराह्न प्रहरीले सार्वजनिक गरेको छ ।
विराटनगरको एक होटलबाट सूचनाको आधारमा विहीबार अपराह्न ५१ किलो ४०० ग्राम चरेससहित पक्राउमा परेका मकवानपुरको टिस्टुङ–५ बस्ने १८ वर्षीय प्रतापसिंह गोले र १९ वर्षीय बुद्ध बम्जन, काभ्रेपलाञ्चोकको नयाँगाउँ देउपुर–४ बस्नेद्वय १८ वर्षीय राम गुरुङ, १७ वर्षीय अरुण गुरुङ र धादिङको भुमेस्थान–१ बस्ने १८ वर्षीय मिलन राउतलाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो । उनीहरुले चारओटा चरेसको प्याकेट बनाएर चारओटा सुटकेसमा फ्ल्सबटम बनाएर लुकाएर राखेका थिए । काठमाडौंबाट चरेससहित विहीबार यहाँ आएका उनीहरु एक होटलमा आराम गर्न बसेका थिए । जोगबनी भएर भारतको कोलकाता विहीबार नै जाने सुरसारमा रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बताए । उनीहरुको साथबाट रेलको टिकट, पाँचथान मोबाइल, भारतीय मुद्रा १४ हजार ४००, नेपाली मुद्रा रु एक हजार र पाँचथान नेपाली नागरिकताका साथै बस चढेर काठमाडौंबाट विराटनगर आएको पाँचथान टिकट बरामद गरिएको छ । सो लागुपदार्थ चरेसको नेपाली बजारमा अनुमानित प्रतिकिलो रु ३० देखि ४० हजार, भारतीय बजारमा प्रतिकिलो रु ६० देखि ७० हजार र जापानमा प्रतिकिलो रु तीन लाखभन्दा बढीपर्ने गरेको प्रहरी उपरीक्षक भण्डारीले जानकारी गराए । उनीहरुमाथि शुक्रबारै लागुपदार्थ ऐनअन्तर्गत् मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ । यसअघि, गत पुस ६ गते विराटनगर–२१ बाट भारतको कोलकाता बस्ने २५ वर्षीय शेख रिमादलाई तीनकिलो ४५ ग्राम चरेससहित प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ लागूऔषधसहित पक्राउ

विशेष