व्यवसायीले ढुवानी नगर्दा पेट्रोल अभाव

फागुन ८ । नयाँ बजार बस्ने शिव जीसीले शनिबार मोटरसाइकलमा पेट्रोल भर्न चारवटा पम्प चहारे । त्रिपुरेश्वरको जयन्ती आयल स्टोरमा पेट्रोल भर्न लाइन बसेका जीसीले नयाँ बजार, भद्रकाली, सुन्धाराको पम्पमा तेल नपाएपछि त्यहाँ पुगेको बताए ।
‘घुम्दा घुम्दा यहाँ आइपुगेको छु,’ शनिबार साँझ जीसीले भने, ‘पैसा तिरेर पेट्रोल हाल्न पनि यस्तो सास्ती ।’ शनिबार पेट्रोल भर्न भौतारिने जीसी एक्ला होइनन् । उपत्यकाका अधिकांश पेट्रोल पम्पमा तेल नपाएपछि सार्वसाधारणले दुःख पाएका छन् ।
शुक्रबार ट्याङकर चालक आन्दोलनले पेट्रोलियम पदार्थ ढुवानी भएन । शनिबार नेपाल आयल निगमले तेल उपलब्ध नगराउँदा उपत्यकामा डिजेल र पेट्रोल अभाव भएको पम्प सञ्चालकहरु बताउँछन् ।
निजीमात्र नभएर सरकारी पम्पलेसमेत तेल नदिएपछि उपभोक्तालाई सास्ती भयो । एक दिन अवरोध हुनासाथ बजारमा पेट्रोलियम अभाव हुने अवस्थामा निगमको व्यवस्थापन कमजोर हुँदा पटक पटक यस्तो हुने गरेको छ ।
ट्यांकर चालकको आन्दोलन र बिदाको कारण अभाव भए पनि आइतबार पर्याप्त पेट्रोल बजारमा पठाउने निगमले जनाएको छ ।
नागरिक
Petrol