अपराध सुरक्षा

आफ्नै पसलमा काम गर्ने युवतीले बोलाएर होटलमा लगेपछि...

आफ्नै पसलमा काम गर्ने युवतीले बोलाएर होटलमा लगेपछि...

फागुन ८ । आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन् ।

कामदार युवतीले पसल साहुलाई काठमाडौंको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई एक होटलमा पुर्‍याएर फिरौतीसमेत असुल गरेर फरार भएको प्रहरीले जनाएको छ ।

सुन्धाराको सनराइज गेस्ट हाउसमा बन्धक अवस्थामा फेला परेका व्यापारी श्यामसुन्दर अग्रवालबाट ८ लाख फिरौती लिएर ती युवती सहयोगीसहित बेपत्ता भएपछि घटनाबाहिर आएको हो । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अग्रवाललाई गेस्ट हाउसका कर्मचारीले उद्धार गरी प्रहरीलाई खबर गरेपछि कामदारबाटै अपहरणमा परी फिरौतीसमेत बुझाउनुपरेको रहस्य खुलेको हो ।

अपहरण गरी फिरौती असुल्ने ती युवती सहयोगीसहित फरार भएकी हुन् । सात महिनाअघि जागिर खोज्दै आएकी ती युवतीले ‘जरुरी काम पर्‍यो’ भन्दै सुन्धारा बोलाएपछि अग्रवाल न्युरोडबाट सनराइज गेस्ट हाउसमा पुगेका थिए । ‘महिलासहित उनीहरूले त्यही होटलमै ६ घण्टा बन्धक बनाएर अग्रवालको साथमा रहेको ७२ हजार नगद र चेकमार्फत ८ लाख फिरौती लिएर होटलमै छाडेर भागेका रहेछन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक ९एसपी० प्रकाशजंग कार्कीले भने । एसपी कार्कीका अनुसार फिरौती लिनेमध्ये दुईजना पक्राउ परे पनि युवतीसहित अन्य दुईजना अझै फरार छन् ।

‘अपहरणमा युवतीको भूमिका देखिन्छ, अवस्था के हो रु उनलाई पक्राउ गरी अनुसन्धान गरेपछि मात्रै थाहा हुनेछ,’ एसपी कार्कीले भने ।

प्रहरीका अनुसार अग्रवाललाई सुन्धाराको सनराइज गेस्टहाउसमा करिब ६ घन्टा थुनेर राखिएको थियो । गेस्ट हाउसका कर्मचारीले ढोका खोल्दा अग्रवालको मुखमा पट्टी बाँधिएको थियो भने होटलको ढोका बाहिरबाट बन्द गरिएको थियो । अग्रवालले ढोका ढक्ढकाएपछि बल्ल होटेल कर्मचारीले ढोका खोलेका थिए । कर्मचारीले प्रहरीलाई दिएको जानकारी अनुसार मुखमा पट्टी तथा हातखुट्टा बाँधेको अवस्थामा उनी भेटिएका थिए ।

प्रहरीका अनुसार युवतीले गेस्ट हाउसको कोठामा लगेपछि होटलमै रहेका उनका तीन पुरुष साथीले अग्रवाललाई नियन्त्रणमा लिएर पैसाको बार्गेनिङ सुरु गरेका थिए । त्यसपछि अग्रवालले तत्काल आफ्नो साथमा रहेको ७२ हजार नगद र ८ लाख रुपैयाँको चेक थमाएपछि उनीहरू त्यहाँबाट भागेका थिए । काठमाडौंमा लामो समयपछि यस्तो अपहरण भएको हो ।

अग्रवालको पसलमा काम गर्ने ती महिलाको विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान गर्ने जनाएको छ ।

राजधानी

Apaharan

विशेष