अर्थ

आजदेखि पूर्वाधार शिखर सम्मेलन, भारतीय रेलमन्त्री काठमाडौंमा

आजदेखि पूर्वाधार शिखर सम्मेलन, भारतीय रेलमन्त्री काठमाडौंमा

फागुन ८ । नेपालको पूर्वाधार विकासका लागि सिर्जनात्मक सोच, प्रविधि र विधि पहिचान गर्ने उद्देश्यले आइतबारदेखि काठमाडौँमा दोस्रो नेपाल पूर्वाधार सम्मेलन– २०१७ आयोजना हुँदैछ ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय, नेपाल उद्योग परिसङ्घ (सीएनआई) र युवा निर्माण व्यवसायी सङ्घ नेपाल (वाईसीएनसी)ले आयोजना गरेको सम्मेलन दुई दिनसम्म चल्नेछ ।

विभिन्न सरकारी तथा गैरसरकारी निकाय, द्विपक्षीय एवं बहुपक्षीय विकास साझेदारहरूको सहभागिता रहने सम्मेलनमा पूर्वाधार विकासमा निजी क्षेत्रको अपरिहार्यतामाथि छलफल गरिनेछ ।

त्यसैगरी, देश विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्नु, दिगो र दरिलो पूर्वाधार सञ्जालको विकासका लागि लगानी बढाउन दबाब सिर्जना गर्नु पनि सम्मेलनको उद्देश्य रहेको छ ।

शिखर सम्मेलनमा नेपाल लगानी बोर्डले सुरु गरेका करिब ५० वटा सम्भाव्य पूर्वाधार परियोजनाको प्रदर्शनीसमेत हुने आयोजक सीएनआईले जनाएको छ । सम्मेलनमा आइडिया स्टुडियोको सहकार्यमा परिसङ्घले विभिन्न व्यक्ति तथा संस्थाबाट सङ्कलन गरेका पूर्वाधार विकाससम्बन्धी उत्कृष्ट विचार (आइडिया) पनि प्रस्तुत हुनेछन् ।

छानिएका १० आइडियामध्ये पनि सबैभन्दा उत्कृष्ट मानिएको आइडिया र लगानीकर्ताबीच समझारीसमेत गरिने योजना रहेको छ । आइडिया स्टुडियोले ४५ भन्दा बढी व्यक्ति तथा संस्थाबाट यातायात, सिञ्चाइ, ऊर्जा, हाउजिङ, डिजिटल र पर्यटन क्षेत्रमा लागू गर्न सकिने नव–प्रवर्तक आइडिया सङ्कलन गरेको छ । तीमध्ये उत्कृष्ट ठहरिएका १० वटा पूर्वाधार विकासका आइडिया व्यवस्थापिका संसद्को विकास समितिमा प्रस्तुतसमेत भइसकेका छन् ।

सम्मेलनमा नेपालका नीति निर्माण तहमा रहेका व्यक्तित्व, भारतका रेलमन्त्री सुरेश प्रभाकर प्रभुलगायतका व्यक्ति प्रमुख वक्ता रहने छन् ।  साथै, विभिन्न क्षेत्रका विशिष्ट र बौद्धिक व्यक्तित्वबाट फरक फरक विषयमा प्रस्तुतीकरण रहने कार्यक्रम रहेको छ ।

यसअघि २०७१ सालमा यस्तै सम्मेलन आयोजना गरिएको थियो । यस वर्ष सम्मेलनमा विशेषगरी पूर्वाधारसम्बन्धी बृहत् परिदृश्य, निजी तथा सार्वजनिक लगानी आकर्षण गर्नमा देखिएका अवरोध तथा बाधा, निजी साझेदारी सहकार्यलाई बढाउने, पूर्वाधार विकासमा वित्तीय लचकता, विश्व वा क्षेत्रीय रूपमा सफल निजी–साझेदारी मोडलका नमुनाहरूमा छलफल केन्द्रित रहनेछ ।

उत्कृष्ट १० व्यक्ति र आइडिया

गौरीशङ्कर राजवंशी, रारातालमा बढीभन्दा बढी पर्यटक पुर्याउने । भरत चालिसे, काठमाडौँ महानगरपालिकामा अत्याधुनिक यातायात प्रणालीको विकास गर्ने । सुवास रिजाल, पूर्वाधार निर्माणका लागि आवश्यक जनशक्ति तयार गर्ने । निर्मला सुवाल, सामान ओसारपसारका लागि यान्त्रिक रोप–वेको विकास । विदुर मैनाली, जलविद्युत् उत्पादनमा लो स्क्रु टर्वाइनको प्रयोग । सौजन्य आचार्य, दिगो पूर्वाधार विकास व्यवस्थापनमा प्रविधि । शशी शाह, दिगो खेती प्रणालीको विकास । स्नेहा मेहता, काठमाडौँ उपत्यकामा मेट्रो रेल विकास । विक्रान्त कार्की, सामान ढुवानीमा विद्युतीय पारामिटर्सको प्रयोग । सुशान्त भण्डारी, दि ग्रेट हिमालयन ट्रेललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने ।

Purbadhar Sammelan

विशेष