३३ केजी सुन काण्डमा परेका सालिमार ज्वेलर्सका मालिक रामशिन गोयलले नेपाल छाडे
फागुन १० । तीन साताअघि विशालबजारस्थित सालिमार ज्वेलर्समा चोरी भयो । गहना किन्न आएकी एक महिलाले गहना चोरेकी थिइन् । सिसिटिभीबाट चोरी गर्ने महिलाको पहिचान भयो । भोलिपल्ट फेरि उनी चोरी गर्न जाँदा पक्राउ परेकी थिइन् ।
सालिमार ज्वेलर्सका सञ्चालकले भोलिपल्ट प्रहरीलाई खबर गरेर ती महिलालाई पक्राउ गराएका थिए । उनीविरुद्ध चोरीमा कारबाही गर्न प्रहरीले जाहेरी माग्यो । तर पसलका सञ्चालक भेटिएनन् । तिमीहरुको सञ्चालक को हो ? भन्दै डिएसपी सन्तोष आचार्यले पटक पटक पसलका कर्मचारीसँग सोध्दा उनीहरुले विदेशमा रहेको र मालिक तत्काल आउन नसक्ने बताए । जाहेरीबिना नै चोरी मुद्धामा अनुसन्धान गर्न गाह्रो भयो । तर जाहेरी दिन सञ्चालक नै उपस्थित नभएपछि प्रहरी समस्यामा पर्यो । पछि बुझ्दा उक्त सुन पसलका सञ्चालक रामशिन गोयल त फरार अभियुक्त भएको खुलासा भयो ।
साढे ३३ किलो सुन तस्करीको घटनामा सो पसल सञ्चालक समेत संलग्न थिए । प्रहरीले भरिया मात्र नभई मुख्य तस्करलाई नै पक्राउ गर्न थालेपछि उनी भागेका हुन् । उनी मात्र नभई राजधानीका दर्जनौं सुन पसलका सञ्चालक यतिबेला भागेका छन् । –दृष्टि साप्ताहिकबाट