सुन्दरी प्रतियोगितामा उपाधिका लागि सहभागीसँगै १० लाख मागियो, आयोजकविरुद्ध उजुरी
फागुन १० । सुन्दरी प्रतियोगिताका आयोजकले उपाधि विजेता हुन सहभागीसँगै रकम माग गरेपछि विराटनगरमा एक सुन्दरी प्रतियोगिता विवादमा परेको छ ।
मिस कोसी २०१७ को दोस्रो संस्करण फागुन ७ मा सम्पन्न भएको थियो । सो प्रतियोगितामा विजेता बनाइदिने भन्दै आयोजकले सहभागीहरुसँग रकम माग गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।
जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा भएको सो प्रतियोगिताको बिजेता तथा अन्य उपाधि जिताउन रकम मागिएको प्रतिष्पर्धामा सहभागीहरुले आरोप लगाएका छन् । प्रतियोगितामा सहभागी हुन काठमाडांैबाट विराटनगर पुगेकी प्रतिष्पर्धी रिया चन्दले आफुलाई उपाधि जिताउन १० लाख रुपैयाँ मागिएको बताइन् । उनले भनिन, ‘आयोजक जय मिडियाका सञ्चालक जय रोयले मसँग १० लाख रुपैयाँ माग्नु भयो । मैले १० लाख छैन भनेँ । त्यसपछि उहाँले जति छ देउ भन्नुभयो । मैले एक लाखले हुन्छ ? भनेर सोधे । उहाँले कम्तिमा तीन लाख रुपैयाँ दिनु पर्छ भन्नुभयो । त्यसपछि हामीले प्रशासनमा उजुरी गर्यौ ।’ चन्दका अनुसार प्रतियोगितामा सहभागी कसैसँग सात लाख, कसैसँग एक लाख रुपैयाँ मागिएको थियो ।
प्रतियोगितामा सहभागी प्राय सबैसँग रकम मागिएको खुलेपछि उनीहरुले सोमबार सामुहिक रुपमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गराएका छन् । प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पत्र लेख्दै ब्युटी पेजेन्टको नाममा जय मिडिया उपर छानविन गरि कारबाही गर्न निर्देशन दिएको छ । प्रशासनले आगामी दिनमा समेत यस प्रकारको कार्यक्रमलाई रोक्न निर्देशन दिएको छ ।
प्रतियोगितामा सहभागी भएका १५ जना प्रतिष्पर्धाहरुले मंगलबार भेला भएर सामूहिक रुपमा प्रशासनलाई दोषी उपर कारबाही गर्न दवाव दिएका थिए । स्थानीय नेपाल बजारमा भेला भएका उनीहरुले हजार रुपैया दरको टिकट प्रति प्रतिष्पर्धी १० वटा बिक्री गर्न दबाब दिएको, प्रशासनमा उजुरी गरे पश्चात अपहरण गर्ने धम्की दिएको समेत गुनासो गरे । प्रतिष्पर्धी रिया चन्दले आयोजकका कर्मचारी अविजित बुढाथोकीले पनि पटक पटक रकम मागेको दाबी गरिन् । यस बिषयमा प्रतिक्रिया लिन खोज्दा जय मिडियाका सञ्चालक जय रोय सम्पर्कमा आएनन् ।