नेपालमा लगानी गर्न जापानीलाई मन्त्री जोशीको आग्रह
फागुन–१३ । जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशीले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका महासचिव निकाइ तोसिहिरोसँग टोकियोमा भेटवार्ता गरेका छन् ।
उनले त्यहाँका वातावरण राज्यमन्त्री इतो तादाहीसँग पनि द्विपक्षीय छलफल गरेका उद्योग मन्त्रालयले आज जनाएको छ । बिहीबार भएको मन्त्री जोशीसँगको दुवै भेटमा नेपालको विकासमा जापानको सहायोग परिचालनका विषयमा छलफल भएको उनका प्रेस सल्लाहकार प्रदीप चापागाईंले जानकारी दिए । मन्त्री जोशीले नेपालमा अब लगानीको वातावरण सुरु भएकाले लगानी गरेर फाइदा लिन जापानका लगानीकर्तासँग आग्रह गरेका थिए ।
उक्त भेटका क्रममा जापानी नेता एवम् मन्त्रीले नेपालमा वातावरणमैत्री विकास निर्माणमा सहयोग गर्न चाहेको बताएका थिए । त्यसैगरी उनीहरुले नेपालमा फोहरमैला व्यवस्थापन, जडीबुटीजन्य उद्योग स्थापनामा जापानले लगानी गर्ने इच्छा व्यक्त गरेका थिए । सो अवसरमा उद्योगमन्त्री जोशीसँग उनीहरुले यही फागुन १९ र २० गते नेपालमा गर्न लागिएको लगानी सम्मेलनमा भाग लिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याललगायतको उपस्थिति थियो । रासस
उद्योगमन्त्री नवीन्द्रराज जोशी
जापान
लगानी