अर्थ कर्पोरेट

घरेलु उत्पादनलाई विदेश पुर्याउन महासङ्घले सहयोग गर्ने

घरेलु उत्पादनलाई विदेश पुर्याउन महासङ्घले सहयोग गर्ने
घरेलु उद्योगको विकास, विस्तार र प्रवद्र्धनका लागि घरेलु तथा साना उद्योग विकास समितिले नेपाल हस्तकला महासङ्घ, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र उद्यमीसँग संयुक्तरुपमा छलफल गरेको छ । समितिले २८ औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनीको अवसरमा आयोजना गरेको ‘हस्तकला उद्योगका समस्या, चुनौती र समाधानका उपाय’ विषयमा ती संस्था र उद्यमीसंग छलफल गरेको हो । कार्यक्रममा महासङ्घका अध्यक्ष धर्मराज शाक्यले घरेलु उद्योगको विकासका लागि महासङ्घ सदैव लागिरहेको बताए । उनले भने ‘घरेलु उद्योगबाट हातले उत्पादन गरेका वस्तुलाई विदेशसम्म पुर्याउन महासङ्घले महत्वपूर्ण भूमिका खेलेको छ ।’ केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले घरेलु क्षेत्रमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउनका लागि केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गर्दै निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने उद्देश्यले विभिन्न जिल्लामा मेला आयोजना गरेको स्पष्ट पारे । समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायले उद्योग क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै भने, ‘घरेलु उद्योगले स्वदेशमै रोजगारी दिने भएकाले विदेशिने जनशक्ति रोकिन सहयोग पुग्छ ।’ उनले व्यवसायीले उठाएका कुरालाई समाधान गर्न समिति कटिवद्ध भएर लाग्ने विश्वास पनि व्यक्त गरे । छलफलमा विभिन्न जिल्लाका ४२ उद्यमीको सहभागिता रहेको थियो ।

घरेलु उत्पादन

विशेष