अपराध सुरक्षा

सुनकुमारी हत्या प्रकरण : श्रीमानलाई सफाइ, बहिनीलाई १० वर्ष जेल

सुनकुमारी हत्या प्रकरण : श्रीमानलाई सफाइ, बहिनीलाई १० वर्ष जेल

फागुन १८ । रोल्पाकी सुनकुमारी नेपाली हत्या अभियोगमा उनका श्रीमान सफाइ पाएका छन् भने बहिनी लाई जिल्ला अदालत रोल्पाले १० वर्षका लागि कैद सजाय सुनाएको छ ।

विसं २०७३ असोज २५ गते विजयादशमीको टीकाको दिनमा घरमा भोजभतेर भइरहेको बेला विवाद भएपछि सुनकुमारीमाथि उनका श्रीमान ध्रुव नेपालीले र बहिनी जालकुमारीले कुटपिट गरेका थिए । त्यही चोटका कारण उनको कात्तिक २७ मा निधन भयो ।

पटकपटक मसला पिस्ने सिलौटोमा सुनकुमारीको टाउको बजारेर कुटपिट गरेको र सोही चोटबाट मृत्यु भएको पुष्टि भएको भन्दै अदालतले जालकुमारीलाई १० वर्ष कैद सजाय सुनाएको छ ।

तर, सुनकुमारीको हत्यामा संलग्न रहेको भनिएका अर्का प्रतिवादी (सुनकुमारीका श्रीमान) ध्रुव नेपालीले मृतक सुनकुमारीलाई कुटपिट गरेको पुष्टि नभएको भन्दै सफाइ दिइएको छ ।जिल्ला अदालत रोल्पाका न्यायाधीश कमलप्रसाद ज्ञवालीका अनुसार नियतवश कसैको ज्यान लिएमा जन्मकैद हुने व्यवस्था भए पनि जालकुमारी नेपालीले आवेशमा आएर घटना घटाएको हुँदा १० वर्ष कैद सजाय तोकिएको हो । मृतकका श्रीमान् ध्रुव नेपाली र बहिनी जालकुमारी नेपालीले सुनकुमारी नेपालीलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी घाइते बनाई उपचारका क्रममा सुनकुमारीको मृत्यु भएको अभियोगमा दोषीउपर कारबाहीका लागि जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता भएको थियो ।

सुनकुमारीको उपचारका क्रममा मृत्यु भएपछि पीडक जालकुमारी नेपाली र ध्रुव नेपालीलाई कारागार कार्यालय रोल्पामा थप अनुसन्धानका लागि थुनामा राखिएको थियो ।

अदालतको फैसलाअनुसार जालकुमारी नेपालीले फागुन ३ गतेदेखि १० वर्ष कैद सजाय भोग्नेछिन् । काक्री, रुकुम माइत भएकी जालकुमारीका श्रीमान् घटना घट्ने समयमा रोजगारीका लागि साउदी अरबमा थिए भने जालकुमारी भने करिब ६ महिनादेखि ७ वर्ष, ४ वर्ष र ३ वर्षका छोराछोरीलाई पढाउने बहानामा थबाङमा डेरा लिएर बस्दै आएकी थिइन् ।

Sun Kumari Hatya

विशेष