विद्युत ठगीमा पक्राउ २३ कर्मचारीविरुद्ध जनही सवा दुई करोडको मुद्दा

फागुन १९ । मिटर उल्टो घुमाएर विद्युत चोरीमा संलग्नको आरोपमा विद्युत प्राधिकरणका २३ कर्मचारीविरुद्ध प्रहरीले प्रतिव्यक्ति दुई करोड २७ लाख रुपैयाँ ठगी मुद्दा चलाउँदैछ ।
उनीहरुलाई साढे सात वर्ष कैद सजाय माग्दै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले बुझाएको प्रतिवेदनमा विद्युत चोरी आरोपमा १५ व्यवसायीविरुद्ध सिन मुद्दा चलाउन सिफारिस गरिएको छ । ठगी र संगठित अपराध मुद्दामा साढे सात वर्ष सजाय माग गरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइएको डिएसपी रवीन्द्र रेग्मीले बताए ।
पक्राउ परेका कर्मचारी
महानगरीय अपराध महाशाखाले माघ पहिलो साता प्राधिकरणका कर्मचारीहरु सुमन श्रेष्ठ, टहलबहादुर कार्की, मनिज श्रेष्ठ, भगवान पाण्डे, सुर्यबहादुर थापा, ठाकुर महर्जन, प्रदीप शर्मा, श्याम बस्नेत, ओम ढुंगाना, दिलबहादुर साउद, अच्युत खड्का, महादेव प्रधान, सुर्यबहादुर कार्की, अन्नपूर्ण सापकोटा, पदमराज जोशीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका व्यवसायीहरु तपन घोष, कुमार लामा, रमेश चुँडाल, बुद्धकुमार लामा, परवेज आलम र दिवाकर प्रधान पनि प्रहरीकै हिरासतमा छन् ।
फरार कर्मचारी
फरार रहेका प्राधिकरणका कर्मचारीहरुमा सुमनराज पाण्डे, महालक्ष्मी केसी, शेरबहादुर सिलवाल, दीपक अधिकारी, जितबहादुर न्यखुसी, हरिबोल ढकाल, बालकृष्ण श्रेष्ठ र टंकप्रसाद पराजुली छन् । ठगीमा उनीहरुको समेत संलग्नता देखिएको प्रतिवादी बनाएर मुद्दा अगाढि बढाएको प्रहरीले जनाएको छ ।
फरार रहेका व्यवसायीमा कौशलादेवी राठी, हरि भट्ट, मञ्जु भट्ट, सञ्जय अग्रवाल, झइन्द्र प्रसाद घिमिरे, रमेशकुमार लुनिया, मुरारी थापा मगर र रामकृष्ण ढुंगेलविरुद्ध पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।
नयाँ पत्रिका
Thagi