अपराध सुरक्षा

७ वर्षिय बालकको अपहरण पछि हत्या

७ वर्षिय बालकको अपहरण पछि हत्या

फागुन १९ । धनुषामा एक बालकको अपहरणपछि हत्या भएको छ । धनुषा पटेर्वा १ का राजाराम यादवका ७ वर्षीय छोरा रुपेशको अपहरणपछि हत्या भएको हो । गत सोमबारदेखि वेपता बालकको शव बुधबार साँझ घर नजिककै गहुँ खेतमा भेटिएको हो । घाँटीमा लगाएको मालाले बालकको घाँटी थिचेर हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

बालकका काका रामनाथ यादवका अनुसार गत सोमबार छिमेकमा भोज खान गएको बेला भतिज रुपेश हराएका थिए। परिवारले रुपेश आफू पढ्ने जनज्योति बोर्डिङ स्कुलमा पढ्न गएको ठानेपनि साँझ घर नआएपछि खोजतलास सुरु गरेको थियो ।

बालक नभेटिएपछि मंगलबार परिवारले सबैला इलाका प्रहरी कार्यालयमा निवेदन दिएको थियो । खेजतलासको क्रममा बुधबार साँझ घर नजिकैको गहुँ खेतमा बालकको शव भेटिएको हो। करिब १ महिनाअघि खेल्ने क्रममा रुपेश र छिमेक सिरिया मुखियाका नातिबीच झगडा भएको थियो ।

त्यही विषयमा रुपेशकी आमा पलासोदेवी र सिरिया मुखियाका बुहारीबीच पनि झगडा भएको थियो । उक्त विवाद पञ्चायतले मिलाएको थियो । त्यस घटनाको एक महिनापछि बालकको हत्या भएकाले रुपेशको परिवारले सिरिया मुखियाको परिवारप्रति आशंका गरेको छ ।

बुधबार बिहान सिरिया र उनकी पत्नी इमिरादेवीःलाई प्रहरीले पक्राउ गरेको छ । त्यही साँझ रुपेशको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सिरिया मुखियाका अत्यन्तै निकटका व्यक्ति स्थानीय महेश यादवलाई समेत नियन्त्रणमा लिएर तीनै जनामाथि अनुसन्धान गरिरहेको सबैला इलाका प्रहरीका सई टेकबहादुर ढकालले जानकारी दिए ।

बालकको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

Apaharan

विशेष