अर्थ कर्पोरेट

नेपाल लगानी सम्मेलन सुरु, नेपाल वैदेशिक लगानीको गन्तव्य बन्दै - प्रधानमन्त्री

नेपाल लगानी सम्मेलन सुरु, नेपाल वैदेशिक लगानीको गन्तव्य बन्दै - प्रधानमन्त्री
फागुन - १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको र यसको उपयुक्त वातावरण बनाउन सबैको एकमत रहेको बताएका छन्।
‘नेपाल लगानी सम्मेलन’को बिहीबार उद्घाटन गर्दै उनले सरकार वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन हरसम्भव प्रयासमा लागेको बताए । शान्ति र समृद्धि एक अर्काका परिपूरक भएको बताउँदै प्रधानमन्त्री दाहालले नेपाललाई वैदेशिक लगानीको गन्तव्य बनाउनका लागि सम्मेलन आयोजना गरिएको उल्लेख गरे । राजनीतिक स्थायित्व र राजनीतिक दलबीचमा सहज अवस्था भएमात्र निजी क्षेत्रका लागि उपयुक्त अवसर हुने बताउँदै उनले नीति तथा नियम एवम् वातावरणलाई उपयुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा लगानी सम्मेलन २०१७ आजदेखि सुरु भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उदार अर्थतन्त्रमा विश्वास राख्नेलाई नेपालमा लगानी गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय लगानीकर्तासँग सहकार्य गरेर मुलुकका सम्भावित क्षेत्रलाई अगाडि बढाउन सकिने बताए । नेपालका दुई ठूला छिमेकी मुलुकसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनलाई अगाडि बढाउने बताउँदै उनले त्यसमा सरकारले पहल गर्ने बताए । नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उपयुक्त अवसर भएको बताउँदै उनले सम्मेलनले नेपालमा लगानीका लागि उभार ल्याउने विश्वास व्यक्त गरे। दोस्रो चरणको आर्थिक रुपान्तरणलाई अगाडि बढाएर आर्थिक लगानी र पुँजीलाई सुरक्षित गर्न सकिने बताउँदै सभापति देउवाले निजी क्षेत्रलाई प्रथमिकताका साथ अगाडि बढाउने नीति रहेको जानकारी गराए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लगानीको वातावरण बनाउनका लागि आफूहरु प्रतिबद्ध रहेको बताए । उनले प्रमुख विपक्षी दलका नेताका रुपमा आफूले मुलुकको आर्थिक समृद्धिका लागि उपयुक्त वातावरण बनाउन पहल गर्ने बताए। उनले मुलुकको आर्थिक विकासका लागि सबैको सहयोग आवश्यक रहेकाे उल्लेख गरे। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको आर्थिक विकासका लागि धेरै लगानीका क्षेत्र रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा लगानी गर्न आह्वान गरे । उनले सरकारले लगानीका लागि सबै वातावरण बनाउने उल्लेख गर्दै निरन्तर ऊर्जाको व्यवस्था गर्ने र नीतिगत व्यवस्था गर्ने आश्वस्त पारे । सरकारले परियोजना बैंक बनाएर लगानी छनोट गर्ने अवसर सिर्जना गरेको उल्लेख गर्दै उनले लगानीका लागि सबै क्षेत्रमा सहजीकरण गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्मेलनबाट नेपालले लाखौँ युवाका लागि रोजगारीका अवसर सिर्जना गर्नुपर्छ भन्ने सपना पूरा हुने बताए । सम्मेलनका सहभागीलाई स्वागत गर्दै उनले नेपालमा लगानीका लागि थुप्रै सम्भावना रहेको उल्लेख गर्दै जलविद्युत्, कृषि, पर्यटनलगायतका क्षेत्रमा लगानी गरी तुलनात्मक लाभ लिन आह्वान गरे। लगानीका लागि आवश्यक पर्ने सबै पूर्वाधार तयार गरेको उल्लेख गर्दै उद्योगमन्त्री जोशीले लगानीकर्तालाई लगानी गरेकै मुद्रामा मुनाफा लैजान दिने र उद्योग स्थापना तथा खारेजीको वातावरण बनाउने बताए। पूर्व अर्थमन्त्री डा रामशरण महतले नेपालमा प्रजातन्त्रको पुनःस्थापनासँगै अर्थतन्त्रमा उदारता अपनाइएको उल्लेख गर्दै उदार राजनीतिक व्यवस्थासँगै मुलुकका सबै क्षेत्रको रुपान्तरण भएको बताए। उनले प्रजातन्त्रको स्थापनासँगै शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, पूर्वाधार विकासमा लगानी वृद्धि हुनु र गरिबी निवारणका कार्यक्रमलाई अगाडि बढाइएको र त्यसले जनताको जीवनस्तर सुधार हुँदै आर्थिक गतिविधिमा सुधार आएको बताए। सम्मेलनमा एसियाली पूर्वाधार लगानी बैंक (आइआइबी)का अध्यक्ष जिन लिक्विनले विश्वव्यापीकरणलाई ध्यान दिँदै विकासलाई गति दिन र क्षेत्रीय संयोजन गर्नका लागि पूर्वाधार विकास कार्यक्रम आएको उल्लेख गरे । उनले सामाजिक एवम् वातावरणीय रुपमा अगाडि बढाउन आइआइबी स्थापना भएको भन्दै आर्थिक सामाजिक क्षेत्रमा लगानी गरेर अगाडि बढ्ने बताउँदै जनताको चाहनाअनुसार विकासलाई अगाडि बढाउने उल्लेख गरे । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मुलुकको सबै क्षेत्रले लगानीका लागि प्रतिबद्धता व्यक्त भएकाले यसले मुलुकमा वैदेशिक लगानीका लागि उपयुक्त अवसर भएको बताए। सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, हङ्कङ, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सहभागी छन् । नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलोपटक वैदेशिक लगानी भित्र्याउन अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो । रासस

नेपाल लगानी सम्मेलन पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष