अपराध सुरक्षा

स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान, तीन अपहरणकारी पक्राउ

स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान, तीन अपहरणकारी पक्राउ

फागुन - २१ । स्वयम्भू, भगवान्पाउनजिकै प्रहरी र अपहरणकारीबीच शनिबार गोली हानाहान भएको छ ।

सोक्रममा प्रहरीको गोली लागी अपहरणकारी घाइते भएको र तीनजनालाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए । सो समूहले गत विहीबार नुवाकोट घर भइ काठमाडौं बस्दै आएका तीनजनालाई अपहरण गरी परिवारसँग रु ६ लाख ५० हजार फिरौती रकम माग गरेको थियो ।

अमात्यले भने–‘गत फागुन १९ गते मनदोर्जे तामाङ, विशाल तामाङ र नाङ्लुङ तामाङलाई अपहरण गरी २० गते उनीहरुको परिवारलाई फोन गरी रु ६ लाख ५० हजार फिरौती मागेका थिए ।’ सो कुराको सूचना पाएपछि महाशाखाको प्रहरी टोलीले शनिबार अपहरणकारीलाई नियन्त्रणमा लिने प्रयास गर्दा अपहरणकारी समूहले गोली प्रहार गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले प्रहार गरेको गोली घुँडामुनि लागी नुवाकोटका जीवन लामा भन्ने दुर्गाबहादुर तामाङ घाइते भएका छन् । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको महाशाखाका प्रमुख अमात्यले जानकारी दिए । अपहरणकारी समूहका सचिन खवास र वीरबहादुर तामाङलाईसमेत प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ । अपहरणकारी ६ जनाभन्दा बढी रहेकामा अन्य अपहरणकारी भने सोक्रममा भागेकाले उनीहरुको खोजीकार्य जारी रहेको वरिष्ठ उपरीक्षक अमात्यले जानकारी दिए ।

गोली हानाहान

विशेष