अपराध सुरक्षा

काठमाडौंमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान

काठमाडौंमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान

फागुन २२ । काठमाडौंको नयाँबजार, खुसीबुमा अपहरणमा परेका तीनजना युवालाई अपहरणमुक्त गराउनेक्रममा शनिबार प्रहरीले चलाएको गोली लागेर एक अपहरणकारी घाइते भएका छन् ।

फागुन १९ गते काठमाडौंको बौद्धबाट अपहरणमा परेका तीनजनालाई अपहरणमुक्त गराउनेक्रममा प्रहरीमाथि रिभल्वरबाट गोली प्रहार गर्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो ।

फिरौती रकम लिएर अपहरणमा परेकाहरुलाई अपहरणमुक्त गराउन पुगेका आफन्तसँगै सादा पोसाकमा पुगेका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने कोसिस गरेका थिए ।

गोली लागी अपहरणमा संलग्न नुवाकोट, चतुरालेका दुर्गाबहादुर तामाङ घाइते भएका छन् । घाइते तामाङको काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीले अपहरणमा परेका नुवाकोट, घ्याङ्फेदीका विशाल तामाङ, कुमार तामाङ र मनदोर्जे तामाङलाई सकुशल अपहरणमुक्त गराएको छ । अपहरणकारीहरु ७ जनाको समूहमा रहेको बताइएको छ ।

अपहरणमा परेकाहरुको परिवारले साढे ६ लाख रुपैयाँ फिरौती तिरेर अपहरणमुक्त गराएउनेक्रममा सादा पोसाकमा प्रहरी पनि सँगै पुगेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिए ।

अपहरणमा संलग्न अरु दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले केही राउन्ड गोलीसहित एकथान रिबल्भरसमेत नियन्त्रणमा लिएको छ ।

अपहरणमा परेकाहरुको परिवारले शुक्रबार प्रहरीलाई अपहरणबारे जानकारी गराएका थिए । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाइएको छ ।

Apaharan

विशेष