अपराध सुरक्षा

मीना सिंह खड्काको ‘स्क्यान्डल’कै वरिपरि गेट कलेज

मीना सिंह खड्काको ‘स्क्यान्डल’कै वरिपरि गेट कलेज

फागुन –२२ ।

‘इज दिस सेम मिसेल ओबामा ?’ मीना सिंह खड्काले फोन गर्ने महिलालाई सोधिन् । उताबाट जवाफ आयो ‘यस डियर ।’

यो कथित कुराकानी भएको थियो –अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाकी पत्नी र हार्वर्ड युनिभर्सिटीमा प्राध्यापन गरेको दाबी गर्ने मीना सिंह खड्काबीच । विश्वका राम्रा ३५ विश्वविद्यालयमा प्राध्यापन गराएको हावादारी गफ गरेर नेपाली मिडिया झुक्याएकी मीना सिंह खड्का काठमाडौंकी गेट कलेजकी अध्यक्ष थिइन् । मीना सिंह खड्का आफ्नो योग्यताबारे गलत दाबी गर्ने महिला भएको प्रमाणसहित विषय सार्वजनिक भएपछि गेट कलेज पनि विवादमा तानियो । मीना सिंह खड्का वास्तवमै अन्तर्राष्ट्रिय पहुच भएकी महिला हुन् भनेर गेट कलेजले नै विद्यार्थीहरुमा दूष्प्रचार गरेर आफ्नो धन्दा चलाएको थियो । जब मीनाबारे गत असारमा तथ्य बाहिर आयो, गेट कलेज आफ्नो प्रतिरक्षा गर्न उनलाई अध्यक्ष पदबाट बाहिर निकालेको सूचना दिन बाध्य भयो ।

अहिले भने गेट कलेजका भरत लेकाइले तथ्य बाहिर आउनु एक महिना अघि नै मीना सिंह खड्काले कलेज छाडिसकेको बताउने गरेका छन् । लेकाइका अनुशार मीनाको छबिले कलेजलाई केही नकारात्मक प्रभाव परेन ।

जानकारहरुका अनुशार कलेजले मीनाबाट फाइदा हुने बेलासम्म फाइदा लियो । फाइदा नहुने देखेपछि निकाल्ने प्रपञ्च रच्यो । मिना आफै बाल्यकालमा मदर टेरेसासँग बसेको, मिसेल ओबामासँग दोस्ती रहेको, ३५ विश्वविद्यालय गेस्ट लेक्चररको रुपमा जाने गरेको, डबल पिएचडी गरेको फूर्ति लगाउने गर्थिन् । गेट कलेजले पनि मीनाको त्यस्तो फूर्तिलाई आफ्नो कलेजको प्रबद्र्धनमा उपयोग गरिदियो ।

नेपालका ठूला मिडियाका मै हुँ भन्ने पत्रकार पनि मीनासिंह खड्काको कुरामा चिप्लेका थिए । होटल म्यानेजमेन्ट पढ्ने ती विद्यार्थीहरु मीनासिंहको नाम भजाएर कलेजले गर्ने प्रचारमा नफस्ने कुरै थिएन ।

गेट कलेज पढेपछि मीनाको पहुँचका कारण राम्रो देशको भिसा लाग्ने, अरु देशमा पढ्न जाने अवसर पनि हुने जस्ता आश्वासन कलेजले बाँड्ने गथ्र्यो । विद्यार्थीहरु यस्तो भुलभुलैयामा परेर छ महिनाको ९० हजार तिरेर पनि बेकरी कोर्स गर्न जान्थे । तीन वर्षे बिएचएमको त छ लाख लिइन्थ्यो । यति शुल्क असुल गर्नुअघि विभिन्न सुविधाको कुरा कलेजले गथ्र्यो । तर कलेजको दाबी अनुशार केही पनि हुँदैन थियो भनेर त्यो बेला विद्यार्थीहरुले गुनासो गरेका थिए ।

गेट कलेजले आफ्नो देशविदेशका प्रतिष्ठित होटलसँंग सहकार्य रहेको दाबी अझै गर्छ । जानकार स्रोत भन्छ्, ‘यस्ता कलेजको पहुँच नेपालकै राम्रा होटलसम्म त पुग्दैन । के को विदेशको कुरा । जस्तो मीना त्यस्तै गेट जस्तो छ ।’ हुन पनि अहिलेसम्म विदेशका होटलसँग पनि सम्बन्ध रहेको कलेजले अहिलेसम्म कसैलाई विदेश पठाउन सकेको छैन ।

विशेष