अर्थ कर्पोरेट

लगानीका लागि उपयुक्त वातावरण बनाउने प्रयास भइरहेकाे छ - प्रधानमन्त्री

लगानीका लागि उपयुक्त वातावरण बनाउने प्रयास भइरहेकाे छ - प्रधानमन्त्री
फागुन - २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक तथा वित्तीय संस्थाले वित्तीय स्रोत परिचालन गरेर जनताको जीवनस्तर उठाउन निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । एलायन्स फर बैंकिङ अन भ्यालुज र एनएमबी बैंकले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको सम्मेलनको उद्घाटनलाई सम्बोधन गर्दै उनले पुँजी निर्माणका लागि जीवन रक्षक मानिएको बैंक तथा वित्तीय संस्था आर्थिक विकास र समृद्धिको आधार भएको बताए । सरकारले केन्द्रीय बैंकमार्फत उत्पादनमूलक क्षेत्रमा लगानी प्रवर्द्धन गर्न पहल गरेको बताउँदै प्रधानमन्त्रीले सरकारले लगानीका लागि उपयुक्त वातावरण बनाउन अधिकतम प्रयास गरिरहेको स्पष्ट पारे । भर्खरै सम्पन्न पूर्वाधार सम्मेलन र नेपाल लगानी सम्मेलनमा सरकार तथा प्रमुख प्रतिपक्ष दलले लगानीका लागि पूर्ण प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै उनले आगामी दिनमा नेपालमा थप महत्वपूर्ण बैंक खुल्ने विश्वास दिलाए । उदारीकरण अभियानअन्तर्गत दोस्रो चरणको वित्तीय सुधारलाई सरकारले अगाडि बढाएको जानकारी दिँदै उहाँले सो चरणको सुधारमा बैंक तथा वित्तीय संस्थाको प्रणालीलाई कानुनमार्फत थप समावेशी बनाइने बताए । सन् २०२२ सम्ममा नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलकमा रुपान्तरण हुन र सन् २०३० सम्ममा मध्यम आय हुने मुलुकको स्तरमा पुग्न पूर्वाधारमा ठूलो लगानी आवश्यक भएको बताउँदै प्रधानमन्त्रीले नेपालले ऊर्जा, यातायात र पर्यटन क्षेत्रमा विशेष लगानीको अपेक्षा गरिएको बताए । ‘भ्यालुबेस्ड बैंकिङ’मार्फत व्यापार, उद्योग तथा उद्यमशीलतालाई बढाउनुपर्नेमा उनले जोड दिएका छन् । नाफाभन्दा जनता तथा समुदायको हित, असल शासन, जिम्मेवारी, पारदर्शिता, सामाजिक उत्तरदायित्व र बैंकिङ आचारमा प्राथमिकता दिने उद्देश्यले आयोजना गरिएको सम्मेलनको विभिन्न मुलुकका ४० बढी बैंकिङ संस्थाका प्रमुख कार्यकारी अधिकृतको सहभागिता छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष