अपराध सुरक्षा

विद्युत चोरीमा प्रयोग हुने लाखौँ मूल्य बराबरका उपकरण बरामद

विद्युत चोरीमा प्रयोग हुने लाखौँ मूल्य बराबरका उपकरण बरामद
फागुन - २४ । नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएको छ। भद्रपुर वितरण केन्द्रबाट खटिएका कर्मचारीले सोमबार झापाको हल्दिबारी गाविस–६ र ७ मा अङ्कुश लगाएर र मिटर बक्स छलेर विद्युत् प्रयोग गर्दै आएका घरबाट लाखौँ मूल्य बराबरको विद्युतीय उपकरण बरामद गरेको थियो। केन्द्रलाई आएको विशेष सूचनाको आधारमा कर्मचारीले देवलाल गणेशको घरबाट एलइडी टिभी र डिभिडी एक/एक थान, बहादुर केरुङको घरबाट टिभी र डिभिडी एक\एक थान, भगीरथ सुवेदी र श्याम हेमरमको घरबाट एक\एक थान पानी तान्ने मोटर, राजु कार्कीको घरबाट टिभी र केवलराम आचार्यको घरबाट मोटर र तार बरामद गरेको केन्द्रले जनाएको छ। केन्द्र प्रमुख रोशन खड्काका अनुसार बरामद गरिएको उपकरण फिर्ता लिन सम्बन्धित व्यक्तिले प्राधिकरणको चुहावट नियमअनुसार जरिवाना तिर्नुपर्नेछ।

नेपाल विद्युत् प्राधिकरण

विशेष