अर्थ

पोखरामा कुखुरा आयतमा प्रतिबन्ध

पोखरामा कुखुरा आयतमा प्रतिबन्ध
फागुन - २५ । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयतमा प्रतिबन्ध लगाइएको छ। धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पंक्षी तथा पंक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो। जिल्ला पशुसेवा कार्यालयले मङ्गलबार देखि नै कुखुरा ओसारपसारमा पूर्णरुपले प्रतिबन्ध लगाइएको जानकारी दिएको हो। दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा, चल्ला र दानालाई जिल्लामा भित्रिन नदिने गरी प्रतिबन्ध लगाइएको कार्यालयका प्रमुख डा। सुधीर थापाले बताए। 'सोमबारसम्म भेटेनरी चिकित्सकबाट इजाजत पाएका कुखुरालाई भित्रिन दिए पनि मङ्गलबारबाट पूर्णरुपले प्रतिबन्ध लगाइएको छ।' उनले भने, 'धौलागिरिको मुख्य प्रवेशद्वार डिमुवा, पर्वत र बागलुङको सिमानामा पर्ने मालढुङ्गामा कुखुरा जाँचका लागि प्रहरीको सहयोगमा कर्मचारी परिचालन गरिएको छ।' धौलागिरि, पर्वतलगायत बागलुङ र म्याग्दी जिल्लामा रहेका पोल्ट्री फार्म तथा मासु व्यवसायीले तराई क्षेत्रबाट सस्तोमा कुखरा, अन्डा, चल्ला र दाना ल्याउने गरेका छन्। प्रायजसो पोखरा बागलुङ राजमार्ग हुँदै कुखुरा आयात हुने गरेपनि केही व्यवसायीले बुटवल हुँदै बागलुङको बुर्तिवाङबाट कुखुरा भित्र्याएको जानकारी पाएपछि अहिले पर्वत र बागलुङको सिमानामा पर्ने मालढुङ्गामा समेत कर्मचारी परिचालन गरिएको डा थापाले जानकारी दिए। धौलागिरिमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म कुखुरा भित्रिने गरेको बताइन्छ। धौलागिरिका तीनवटै जिल्लामा मासुका लागि स्थानीय कुखुरा पर्याप्त भएपनि केही व्यवसायीले सस्तो हुनाले बाह्य जिल्लाबाट आयात गर्ने गरेका हुन्। बर्डफ्लुको चर्चासँगै जिल्लामा कुखुरा भित्रिन छाडेपछि कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ। एक साताअघि प्रतिकिलो रु ३६० मा पाइने मासु अहिले रु ४४० मा बिक्री हुँदै आएको छ।

बर्डफ्लु

विशेष