अपराध सुरक्षा

किशोरी हत्याको छानबिनका लागि सीआइबी बोलाइयो

किशोरी हत्याको छानबिनका लागि सीआइबी बोलाइयो
फागुन - २५ । तीन साताअघि लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रीता तामाङको हत्यामा संलग्न दोषी पत्ता लाग्न नसकेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)बाट टोली मगाइएको छ । गत माघ २६ गते छिमेकी गाविस सिम्पानी–७ स्थित कुसेऔंसी जंगलमा वीभत्स हत्या गरिएको अवस्थामा फेलापरेकी किशोरीको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता नलागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले सीआइबीको टोली मगाएको हो । अहिलेसम्मको अनुसन्धानबाट दोषी पत्ता लगाउने लक्ष्य पूरा हुने सम्भावना कम देखिएकाले सीआइबीको टोली पठाइदिन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले किशोरीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । हत्यामा संलग्न दोषीलाई प्रहरीले पत्ता लगाउन नसकेको गुनासो बढ्दै गएपछि मानवअधिकार आयोगको टोलीलेसमेत स्थलगत अनुसन्धान थालेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा माघ २७ गते पाँचजना स्थानीयवासीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जिल्लास्थित अन्तरपार्टी महिला सञ्जाल तथा महिला अधिकारकर्मीले अहिलेसम्म दोषी पत्ता नलाग्नुमा प्रहरीकोसमेत मिलेमतो रहेको आरोप लगाएका छन् । रासस

CIB Cib Nepa

विशेष