अर्थ

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी
चैत्र–३ । म्याग्दीकाे  मङ्गला गाउँपालीका–१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक रु सात लाख आम्दानी गरेका छन् । चार वर्ष साउदी अरब र सात वर्षसम्म इराकमा श्रम गरेका ३९ वर्षीय केसीले चार वर्षअघि गाउँ फर्किएर मौरीपालन सुरु गरेका हुन् । छिमेकी गाउँ डडुवाबाट तीन घार मौरी किनेर मौरीपालन सुरु गरेका केसीले गत वर्ष मौरीसहितका ९४ घार बिक्री गरी रु सात लाख आम्दानी गरेका थिए । “यसपाली दुई सय घार मौरी बेच्ने लक्ष्य छ,” उनले भने । गत वर्ष उनले रु एक लाख ५० हजार बराबरको मह बिक्री गरेको थियो । अहिले उनले एपी सेरेना जातको ९८ घार मौरी पाल्नु भएको छ । केसीले प्रतिघार मौरी रु छ हजार ५०० तथा मह प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएका छन् । एउटै घारबाट वर्षमा तीन वटासम्म घार छुट्टाउन सकिने उनी बताउँछन् । कम समयमै मनग्य आम्दानी गर्न सकिने भएकाले मौरीपालन आयआर्जनका लागि उपयुक्त माध्यम बन्न सक्ने केसीको अनुभव छ । उनी जिल्ला कृषि विकास कार्यालयद्वारा प्रदान गरिने राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् । रासस

आम्दानी मौरीपालन म्याग्दी वार्षिक

विशेष