अर्थ

मुसहर बस्ती बनाउन स्पेनबाट तीन लाख सहयोग

मुसहर बस्ती बनाउन स्पेनबाट तीन लाख सहयोग
प्रवासी नेपाली मञ्च, स्पेन शाखाले महोत्तरी जिल्लाको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि तीन लाख तीन हजार ६ सय ७० रुपैयाँ रकम सहयोग गरेको छ । स्पेनमा रहेका नेपालीबाट सङ्कलित सो रकम नमुना बस्ती परियोजनास्थलमा आयोजित कार्यक्रमबीच मञ्चका स्पेन शाखाका संस्थापक अध्यक्ष पुष्प तिमिल्सिना र कोषाध्यक्ष दिनेश रेग्मीले बस्ती निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लाई संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष तिमिल्सिनाले फाउन्डेसनले राष्ट्रिय एकता र आपसी सद्भाव वृद्धिसँगै गरिबको उत्थानका लागि गरेको प्रयत्न प्रशंसनीय भएको बताए । हास्यकलाकार धुर्मुसले संसारभरि छरिएर रहेका मनकारी नेपाली र अन्य सहयोगीको साथ पाएर नै आफु मुसहर बस्ती निर्माणमा जुटेको बताए । कार्यक्रममा बर्दिवास–१ का देवेन्द्र गौतमले बस्ती निर्माणमा आफ्नोतर्फबाट एक लाख २५ हजार एक सय १ रुपैयाँ फाउन्डेसनका अध्यक्ष धुर्मुसलाई हस्तान्तरण गरे । गत पुस २५ गतेदेखि निर्माण थालिएको नमुना बस्ती निर्माणको अनुमानित लागत चार करोड ३८ लाख रुपैयाँ रहेको छ । बस्ती निर्माणको कार्य चैत मसान्तमा सकेर आउने नयाँ वर्षका दिन मुसहरहरुलाई हस्तान्तरण गरिने फाउन्डेसनले यसअघि नै घोषणा गरिसकेको छ । नमुना बस्तीमा ५० मुसहर परिवारका लागि बिजुली, खानेपानी, शौचालय, सडक सुविधासहितका अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री भूकम्प प्रतिरोधी घर बनेको धुर्मुसको भनाइ छ । घर निर्माणको कार्य लगभग ८० प्रतिशत सम्पन्न भएको फाउन्डेसनले जनाएको छ ।

मुसहर बस्ती

विशेष