सुन तस्करहरूको अस्वभाविक सम्पत्ति

चैत्र ६ । अन्तरदेशीय सुन तस्करीको गिरोहमा संलग्न भएका भनिएकाहरूको छोटो अवधिमै करोडौं रुपैयाँको आर्थिक हैसियत बढेको खुलेको छ ।
२१ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै पास भएको साढे ३३ किलो सुन विमानस्थल बाहिर बरामद भएको थियो। तस्करीमा संलग्न १२ जनालाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ ।
१९ जनालाई फरार अभियुक्तको सूचीमा राखेको छ। जसमध्ये दुबईमा रहेको सुनका मुख्य मालिक पाँच नेपालीसमेत छन्। पर्वतको विकट गाउँ भोर्ले–१ का गुप्तलाल भुसालको आर्थिक हैसियत सबभन्दा अस्वभाविक देखिन्छ । गाउँमा प्रशस्त जग्गाजमिन भएका परिवारका माइला छोरा गुप्ताललाल करिब १५ वर्षअघि काठमाडौं पसेका थिए । नातेदारहरूका अनुसार सुरुवाती वर्षमा उनी काठमाडौंमा गाडी चलाउने काम गर्थे तर पछिल्ला केही वर्षमा उनको उकासिँदो आर्थिक प्रगति देखेर छिमेकी र नातेदार चकित छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार ३३ केजी सुन तस्करीका मालिकमध्ये भुसाल पनि एक हुन्, जसले विमानस्थलका कर्मचारीलाई उपयोग गर्न भूमिका खेलेका थिए ।
दुबईमा बसेर तस्करीमा संलग्न भुसालको बैंकिङ कारोबार त अस्वाभाविक देखिन्छ नै, अन्य अचल सम्पत्ति पनि स्वाभाविक देखिँदैन। अनुसन्धानमा संलग्न एक अधिकारीले भुसालको आर्थिक हैसियत देख्दा जोकोही चकित पर्ने बताए । उनको व्यक्तिगत खाताका अनुसारमात्रै २०६५ मा १ करोड ४६ लाख १५ हजार रुपैयाँ देखिन्छ ।
काठमाडौंका ६ बैंकमार्फत कारोबार गर्ने भुसालको त्यसपछिका वर्षमा सम्पत्ति उकालो लाग्दो छ। ०६५ भदौ यतामात्रै बैंकमा नगद एक करोड ४६ लाख १५ हजार देखिन्छ भने त्यसयता उनले विभिन्न बैंकमार्फत कारोबार गरेका छन्। भुसालले भिबोर सोसाइटी डेमलपमेण्ट बैंको खातामा मात्रै सन् २०१२ मा एकैपटक ७० लाख २७ हजार ९ सय ५० र सन् २०१३ मा ८६ लाख ५० हजार रुपैयाँ राखेको देखिन्छ ।
त्यस्तै माछापुच्छ्रे बैंकको तलब खातामा सन् २०१४ मा ५८ लाख ८० हजार र २०१५ मा १३ लाख ७८ हजार ५ सय ५० राखेका छन्। यस्तै २०१६ मा उनले सो बैंकमा ३० लाख रुपैयाँ जम्मा गरेका छन्। यही बैंकको ओभरड्राफ्ट खातामा भुसालले ३४ करोड ६९ लाख ७३ हजार ४ सय ५७ रुपैयाँ जम्म गरेको र ३५ करोडभन्दा बढी रकम निकालेको देखिन्छ। उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकबाट पनि करोडौंको कारोबार गरेको देखिन्छ । केही वर्षयता दुबईमा रहेका भुसालको नाममा काठमाडौंको सामाखुसी, धापासी, धापासी र माछापोखरीमा तीन वटा भव्य घर छन् । सन् २००४ यतामात्रै उनले ३७ लाख ९५ हजार २ सय सात रुपैयाँको सुनका गरगहना किनेका छन् । ब्यूरोका अनुसार दुबईमा बसेर होटलदेखि ट्राभल एजेन्सीसम्मको व्यापारमा भुसालले हात हालेका छन्। दबईमा मात्र उनको आठ वटा कम्पनीमा लगानी छ ।
कान्तिपुर
सुन तस्कर