अर्थ

उद्योग वाणिज्यमा चुनावी सरगर्मी, किशोर प्यानलको उम्मेदवारी घोषणा

उद्योग वाणिज्यमा चुनावी सरगर्मी, किशोर प्यानलको उम्मेदवारी घोषणा

चैत ६ । नेपाल उद्योग बाणिज्य महासङ्घको ५२ औं साधारण सभामा बरिष्ठ उपाध्यक्ष पदका लागि किशोर कुमार प्रधानको प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।

वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका प्रधानको समूहले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उम्मेदवारी घोषणा गरेको हो । महासङ्घको संशोधित विधानले बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान राखेपछि साधारण सभा नजिकिएसँगै बरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम शुरू भएको छ । आगामी कार्यकालको लागि अहिले बरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणा स्वतः अध्यक्ष हुने छिन् । यो सँगै महासङ्घले पहिलो महिला अध्यक्ष समेत पाउने छ ।

शनिबार सिल्क एशोसिएशनले आयोजना गरेको उम्मेदवारी घोषणा कार्यक्रमममा किशोर प्रधानले बरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् । उपाध्यक्ष पदका लागि शंकर प्रसाद पाण्डेको नाम सार्वजनिक गरिएको छ । पाण्डे बस्तुगत समूह तर्फको सदस्य पदमा रहेका थिए । प्रदेश सभाको अध्यक्षमा प्रमोद श्रेष्ठलाई उम्मेदवारी बनाईएको छ ।

प्रधानको प्यानललाई पूर्व अध्यक्षहरु सुरज वैद्य, बिनोद बहादुर श्रेष्ठ, कुश कुमार जोशी, आनन्दराज मुर्मी, महेशलाल प्रधान र पद्म ज्योतीले समर्थन गरेका छन् । महासङ्घका पूर्व बरिष्ठ उपाध्यक्ष भास्करराज राज कर्णिकारले पनि प्रधानको प्यानललाई समर्थन गरेका छन् । यसैगरि नेपाल तयारी पोशाक महासङ्घका अध्यक्ष चण्डी अर्याल, नेपाल विज्ञापन उद्योग सङ्घका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले पनि प्रधानको प्यानललाई समर्थन गरेका छन् ।

महासङ्घको साधारण सभा यहि चैत २८ गते शुरू हुने छ । बरिष्ठ उपाध्यक्षको लागि शेखर गोल्छाको समूहले पनि आफ्नो प्यानल घोषणा गर्दै छ । यो सँगै महासङ््घमा स्वतः अध्यक्ष बन्नका लागि बरिष्ठ उपाध्यक्ष पदमा चुनावी भीडन्त हुने देखिएको छ । महासङ्घमा जिल्ला र नगर उद्योग वाणिज्य सङ्घ गरेर १ सय ५, वस्तुगत तर्फ ९९ र एशोसियट तर्फ करीब आठ सय ५६ जना सदस्य रहेका छन् ।

Kishor Pradhan Udyog Banijaya Masangh

विशेष