अपराध सुरक्षा

फिल्मका यी तपश्वी र यथार्थका यी तपश्वीबीच केही फरक देखिएन, धर्मका नाममा डरलाग्दो व्यापार

फिल्मका यी तपश्वी र यथार्थका यी तपश्वीबीच केही फरक देखिएन, धर्मका नाममा डरलाग्दो व्यापार

– आफूलाई तपश्वी भनेर चिनाउने रामबहादुर बम्जनविरुद्ध ६९ साल असारमा जिल्ला बन कार्यालयले पक्राउ पुर्जी जारी गर्यो । बम्जनलाई लगाइएको कसुर थियो–उनले सरकारी वन मासेर वनमाराको रुपमा स्थापित भए । जंगलमै पनि वन मासिएको प्रमाण भेटियो । 

– तपश्वीका रुपमा उनले त्यहीबेला चर्चा पाइसकेका थिए । धेरैवटा बैंकमा उनलको खाता पनि थियो । फरक फरक नाममा नागरिकता निकाल्ने प्रयास गरेपछि बारा जिल्ला प्रशासनले पनि उनलाई पक्राउ गर्न खोज्यो । तर उनी भागेर सिन्धुलीको वन क्षेत्र पुगे ।

– तर सिन्धुलीमा पनि उनी बस्न सकेनन् । त्यहाँबाट पनि उनी भागेर बेपत्ता भए ।

– बम्जनका समर्थकले बुद्धका नाममा उनलाई नागरिकता दिनु पर्ने माग राखेर सडक संघर्ष गरे । बम्जनले चेकोस्लाभियाकी नागरिक मारिचीलाई बन्धक बनाएका थिए ।  उनले अाफ्रनै बहिनी रञ्जितालाइ पनि बन्धक बनाए । 

– बन्दक घटना अघि बम्जनले ९ जना गोठालाहरुलाई नियन्त्रणमा लिएर २० घण्टापछि मुक्त गरे । प्रहरीले बल प्रयोग नगरेको भए उनीहरुलाई बम्जनले के गर्थे भन्न सकिन्न ।

– आठ वर्ष अघि मध्यरातमा महिलाहरुलाई अघिपछि लगाएर बम्जन बाराको वनमा घुमफिर गर्दा प्रहरीले नियन्त्रणमा लिएको खबर सार्वजनिक भएको थियो ।

यस्ता धेरै विवादमा फसेका रामबहादुर बम्जनलाई अहिले उनका आसेपासले भिराइदिएको धार्मिक नाम हो –सर्वज्ञ परमपुजनीय महासम्वोधी गुरु धर्मसंघ । तपश्वीका रुपमा चिनिएका बम्जन उदयको शैली हिन्दी फिल्म ‘ओ माइ गड’ र ‘पिके’ को कथा भन्दा कुनै अर्थमा पनि फरक छैन ।

बम्जनले स्कुले शिक्षा पनि पूरा गरेका छैनन् । उनको अन्य स्वअध्ययनबारे पनि कुनै तथ्य बाहिरिएको छैन । तर उनी अहिले लाखौंका महान् गुरु –‘सर्वज्ञ परमपुजनीय महासम्वोधी गुरु धर्मसंघ’ बनेका छन् ।

बम्जनको ज्ञान के हो ? उनीबाट समाजले के लिन सक्छ ? यसको कसैले केही खोजी गरेको छैन । तर उनको नाममा उनका अुनयायीहरुले ठूलो व्यापार गरिरहेका छन् । पत्रपत्रिकामा ज्याकेट विज्ञापन दिने देखि हेलिकोप्टर चार्टड गरेर उनी विभिन्न जिल्लामा पुग्न थालेको घटनाले यो व्यापार फस्टाएको स्पष्ट हुन्छ ।

बम्जनलाई महान गुरु बनाएर विभिन्न गतिविधि गर्न गठन गरिएको बोधि श्रवण धर्म संघका अध्यक्ष केवल लामा भन्छन्, ‘अब गुरु चाँडै विश्व भ्रमणमा निस्किदै हुनुहुन्छ । त्यसअघि गुरु दर्शन र आशिर्वादका लागि चैत ८ देखि २० सम्म ललितपुरमा कार्यक्रम राखेका छौं ।’ बोधि श्रवण धर्म संघको आय व्ययबारे कसैले वास्ता पनि गरेको छैन । विवादास्पद व्यक्तिलाई महान गुरु बनाएर व्यापार व्यवसाय फिल्मी शैलीमा चलेको देखिन्छ ।

फिल्म पिकेमा तपश्वीले सोझै भगवानसँग आफ्नो सम्वाद हुन्छ भनेर लाखौलाई उल्लु बनाएको देखाइन्छ । अर्को हिन्दी फिल्म ओ माइ गडमा धर्मका ठेकेदारहरुले एक नास्तिक पात्रलाई  मर्नु अघि नै ‘परमपुजनीय गुरु’ बनाएर व्यापार सुरु गरेको देखाइन्छ ।

पिकेका तपश्वी र तपश्वी बम्जनबीच धेरै फरक देखिदैन । महिलासँगको हिमचिम, वन मास्ने, हतियार राख्ने, विदेशी महिलालाई बन्धक बनाउने जस्ता क्रियाकलापले बम्जन विवादभन्दा बाहिर छैनन् । तर उनलाई महान गुरु बनाइसकिएको छ ।  बोधि श्रवण धर्म संघका अध्यक्ष केवल लामा भन्छन्, ‘हतियार राखेको तपाईले देख्नु भयो ? मान्छेहरुले त के के भन्छन् भन्छन् भन्न दिनुस् ।’

विवादास्पद चरित्रका बम्जनलाई ठूलो गुरु बनाउँदा तपाईहरुको व्पापार फस्टाएको छ हैन ? भन्ने प्रश्नको जवाफमा अध्यक्ष लामा भन्छन्, ‘मनुष्यको कुरा समयले बोध गर्ने छ ।’

बोधि श्रवण धर्म संघले चैत आठ देखि २० गतेसम्म विश्वशान्ति महामैंत्री पूजा एवं महादर्शन आशिर्वाद कार्यक्रमको आयोजना गरेको छ । यो आयोजनाको तयारी तामझामका साथ भइरहेको बुझिएको छ ।

विशेष