भारतले दियो भूपुगोर्खा सैनिकलाई ४० अर्ब
चैत्र ८ । भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ ।
यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो । भारत सरकारले पेन्सनका लागि छुट्ट्याएको बजेटमा भारतीय सेनामा कार्यरत नेपालीलाई दिदै आएको सेवासुविधासमेत जोड्ने हो भने नेपालको कुल रक्षा बजेटभन्दा करिब दुई गुणा बढी हुन आउँछ ।
सन् २०१६–१७ मा नेपालको कुल रक्षा बजेट ३६ अर्ब १ करोड ८० लाख ५ हजार रुपैयाँ छ भने भारतले नेपालमा रहेका भूपूगोर्खा सैनिकको पेन्सनका लागि ४० अर्ब रुपैयाँ छुट्याएको देखिन्छ । नेपालको कुल रक्षा बजेटभन्दा ४ अर्ब रुपैयाँ बढी भारतले नेपालमा रहेका भूपूगोर्खा सैनिकलाई छुट्ट्याएको हो ।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार नेपालमा भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त करिब १ लाख २७ हजारले पेन्सन बुझ्ने गर्छन् । ४० अर्ब रुपैयाँ भारत सरकारले उनीहरुका लागि छुट्ट्याएको हो । अहिले भारतीय सेनामा ३२ हजार नेपाली सेवारत रहेको भारतीय दूतावासकी प्रवक्ता रुबी जसप्रित शर्माले जानकारी दिइन् ।
सेवारत ३२ हजार गोर्खा सैनिकको सेवासुविधाका लागि यसवर्ष करिब २० अर्ब रुपैयाँ छुट्ट्याएको छ ।
नागरिक
Gorkha Army ]