अर्थ

कम लागतका भूकम्प प्रतिरोधी घरका ६ डिजाइन सार्वजनिक हुने

कम लागतका भूकम्प प्रतिरोधी घरका ६ डिजाइन सार्वजनिक हुने
चैत्र - ८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ वटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने भएको छ। भूकम्प प्रभावित जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले कम लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको छ। डिजाइनअनुसार कम्तीमा दुई लाख ९२ हजार रुपैयाँको लागतमा दुईकोठे भवन निर्माण गर्न सकिनेछ । सोसाइटी अफ नेपलिज आर्किटेक्चर ९सोना०ले पाँचवटा र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले जानकारी दिए। प्रमुख कार्यकारी अधिकृत पोखरेलको संयोजकत्वमा आज बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले नयाँ ६ प्रकारका घरको नमुना डिजाइनलाई स्वीकृति दिने निर्णय गरेको हो । डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणीकरण गरेपछि लागू हुनेछ । नयाँ डिजाइनअनुसार ढुङ्गाको जोडाइ र माटोको गारोका एकतल्ले घर एवम् ढुङ्गाको गारोमा माटोको जोडाइ तथा सिमेन्टले समेत जोडी भूकम्प प्रतिरोधी घर बनाउन सकिनेछ । उक्त डिजाइन सार्वजनिक भए भूकम्पमा घर गुमाएका पीडितले कम लागतमा धेरै विकल्पमध्ये आफूलाई मन पर्ने डिजाइनमा नयाँ घर बनाउन सक्नेछन् । सहरी विकास मन्त्रालयले यसअघि १७ वटा घरको नमुना डिजाइन तयार गरेको थियो । प्रभावित जिल्लामा हाल १७ प्रकारका नमुनामा घर बनाउन सिफारिस गरिन्थ्यो । अब २३ प्रकारका नमुनामध्ये पीडितले आफूलाई मन परेको नमुना छानेर घर बनाउन सक्नेछन् । समितिको बैठकले जोखिमयुक्त बस्तीमा रहेकालाई स्थानान्तरण गर्न आवश्यक जग्गा÷घडेरीको व्यवस्थापन गर्नेबारे गृहकार्य गर्न सम्बन्धित जिल्लाका प्रजिअलाई निर्देशन दिने निर्णय गरेको छ । प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाइ सर्न चाहने प्रभावितलाई जग्गा किन्न रु दुई लाख अनुदान उपलब्ध गराउनेबारे निर्णय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो । बैठकले काठमाडौं उपत्यकाका पुरातात्विक सम्पदा पुनर्निर्माणमा स्थानीय समुदायको चासोलाई सम्बोधन गर्ने गरी प्रक्रिया अघि बढाउन प्राधिकरणअन्तर्गतको सम्पदा पुनर्निर्माण उपसमितिलाई निर्देशन दिएको छ ।

विशेष