अपराध सुरक्षा

मावि चलाउन फर्जी विद्यार्थी

मावि चलाउन फर्जी विद्यार्थी

चैत्र ९ ।  टीकाभैरवमा रहेको प्रभाततारा बोर्डिङ स्कुलले विद्यार्थीको फर्जी  विवरण देखाएर माध्यमिक तहको ९ कक्षा अध्यापनका लागि निवेदन दिएको छ ।

विद्यालयले ८ कक्षासम्म सञ्चालन अनुमति पाए पनि विद्यार्थी नै नभएकाले कक्षा सञ्चालन भएको छैन । विद्यालयले कक्षा ८ मा २७ विद्यार्थी भएको नक्कली हाजिरी कापी बनाएर जिल्ला शिक्षा कार्यालयमा २०७३ पुस २९ मा पेश गरेको थियो । विद्यालयले कक्षा ८ को परीक्षा सञ्चालन गर्न जिशिकाबाट नाटकीय ढंगबाट प्रश्नपत्र र उत्तरपुस्तिकासमेत लगेको थियो । शिक्षा नियमावली २०५९ अनुसार विद्यालयमा तह-कक्षा थप गर्न ८ मा अनिवार्य २२ विद्यार्थी आवश्यक पर्छ । त्यस्तै शिक्षक नियुक्तिपत्र, नजिकैका २ विद्यालयको सहमतिपत्र, सञ्चालकले विद्यालय खोल्न गरेको निर्णय, विद्यालय निरीक्षक र स्रोतव्यक्तिको उपस्थितिमा बसेको व्यवस्थापन समिति बैठकको निर्णय आवश्यक पर्छ ।

कक्षा थप गर्न स्थलगत निरीक्षणमा गएका विद्यालय निरीक्षक कृष्णप्रसाद घिमिरेले गत माघ २५ मा पेश गरेको प्रतिवेदनमा शिक्षा नियमावलीअनुसार विद्यार्थी संख्या पर्याप्त र बढ्ने सम्भावना रहेको उल्लेख गरेका थिए । मावि शिक्षकमा एनबी महर्जन, सुमन महर्जन र सुमित महर्जन रहेको प्रतिवेदनमा उल्लेख थियो । घिमिरेका अनुसार पुनः चैत ३ गते निरीक्षणमा जाँदा विद्यार्थी मात्र होइन ८ कक्षाको कोठासमेत नभएको भेटियो । ‘त्यसपछि तत्काल अनुमति रोक्न कार्यालयमा निवेदन दिएँ’, उनले भने, ‘विद्यार्थी नभएको कक्षा ८ मा भर्ना शुल्क १५ सय, मासिक ९ सय ५० र परीक्षा शुल्क ४ सय राखिएको थियो ।’ विद्यालयले जिशिकामा पेश गरेको निवेदन फाराममा भरेको विवरण झुटो ठहरे कानुनबमोजिम सजाय हुने उल्लेख छ ।

प्रभाततारा विद्यालयका प्रिन्सिपल न्हुच्छे महर्जनले कक्षा ८ का विद्यार्थी पाटनको रहेको दाबी गरे। ‘तर जाँच दिन आएनन्’, उनले भने नआउनेलाई घरघरमा गएर बोलाउन सकिँदैन। प्रक्रिया पुर्याएरै विद्यालय अपग्रेडका लागि निवेदन दिएको उनको दाबी छ

कान्तिपुर

School

विशेष