अर्थ भिडियो

ढुक्क भए हुन्छ, कसैको बाबुले चाहेर पनि एनसेलको ३३ अर्ब कर मिनाहा हुँदैन (भिडियाेसहित)

ढुक्क भए हुन्छ, कसैको बाबुले चाहेर पनि एनसेलको ३३ अर्ब कर मिनाहा हुँदैन (भिडियाेसहित)

चैत ११ । पूर्वअर्थसचिव रामेश्वर खनालले एनसेलले तिर्नु पर्ने पूँजीगत लाभकर कानुनतः कुनै पनि हालतमा मिनाहा हुन नसक्ने बताएका छन् । मन्त्रिपरिषदमा लैजादै वा अन्य कुनै पनि तिकडम गरेर पनि एनसेल आफ्नो दायित्वबाट पन्छिन नसक्ने उनले स्पष्ट पारेका छन् । नेपालआजसँगको भिडियो अन्तर्वार्ताका क्रममा खनालले एनसेल र पूँजीगत लाभकरबारे सम्पूर्ण तथ्य खुलासा गरेका छन् । अन्तर्वार्ताका क्रममा उनले राखेका मूलभूत धारणा यस्ता छन्ः

‘एनसेलले तिर्नुपर्ने २५ प्रतिशत पूँजीगत लाभकर मध्ये १० प्रतिशत रकम तिरिसकेको छ । बाँकी १५ प्रतिशत कर भनेको कति हुन्छ ? कति तिर्नु पर्ने हो भन्ने निर्धारण ठूला करदाता कार्यालयले गर्ने हो । अहिले एनसेलले पूँजीगत लाभ कर नतिरेको भनेर भन्दा पनि अर्थमन्त्रीले त्यो कर टेलियासोनेराबाट उठाउने भनेर प्रस्ताव लिएर जानु भयो । यो प्रस्तावका कारण अहिले एनसेलको पूँजीगत लाभकर चर्चामा आएको छ । कोबाट कर उठाउने, कति उठाउने भन्ने कुरा आय कर ऐनमा स्पष्ट व्यवस्था छ । आयकर ऐनको अधिकार प्रयोग गर्ने भनेको कर अधिकृतले मात्रै हो ।

एनसेल ठूलो कम्पनी भएकोले यसको कर निर्धारण गर्ने भनेको ठूला करदाता कार्यालयबाट हो । ठूला करदाता कार्यालयको तोकिएको कर अधिकृतबाहेक कसैले पनि यसबारेमा काम गर्न सक्दैन । मन्त्रिपरिषद्ले निर्णय गरेर त हुँदै हुँदैन । मन्त्रिपरिषद्ले निर्णय गरेको भए पनि त्यो निष्क्रिय हुने थियो । लागू हुन सक्ने थिएन । किनभने मन्त्रिपरिषद्ले निर्णय गर्दैमा कानुन उल्टिदैन । कानुन उल्टाएर निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्लाई छैन । यसैकारण यो प्रकरण चर्चामा आएको हो ।

यसमा अर्को विषय के छ भने टेलियासोनेरा नर्वेको हो । नेपाल र नर्वेबीच दोहोरो कर मुक्ति सम्झौता छ । यस्तो अवस्थामा नेपालमा एक पटक तिरिसकेको कर फेरि टेलियाले नर्वेमा तिर्नु पर्दैन । यदि नेपालमा एनसेलको स्थायी संस्थापना छैन भने उसले नर्वेमा कर तिर्नु पर्छ नेपालमा पर्दैन । तर एनसेलको स्थायी संस्थापना नेपालमै छ । यसकारण उसले कर नेपालमा तिर्नु पर्छ, नर्वेमा पर्दैन । फेरि नेपालमा भन्दा नर्वेमा करको दर बढी छ भने नेपालमा तिरिसकेपछि बाँकीको फरक दरमात्रैको कर उता तिर्दा हुन्छ ।

कसै कसैले एनसेलको स्थायी संस्थापना नेपालमा थिएन भन्छन् भने पनि १५ प्रतिशत कर दाखिला गरेबाटै उसको स्थायी संस्थापना देखिन्छ । एनसेल आफैले सबै कुरा स्वीकार गरेर कर तिर्न सुरु गरिसकेको छ भने अब यो वा त्यो बाटोबाट कर छुट गर्न सम्भव छैन । कुनै तिकड्म गरेर एनसेलले कर नतिर्ने तयारी गर्यो वा तत्कालका लागि कर नतिर्न सफल भयो भने पनि कर ऐनमा थुप्रै त्यस्ता प्रावधान छन् जसबाट कर असूल गर्न सकिन्छ ।

कानुनको नजरमा अहिले पनि टेलिया नै हो टेलियासोनेराले एनसेल एक्यिटालाई बिक्री गरे पनि कानुनको नजरमा अहिले पनि एनसेलको व्यवस्थापन हेर्न निकाय भनेको टेलिया नै हो । टेलियाल १५ प्रतिशत कर दाखिला गरेको छ । बाँकी गर्न बाँकी छ । कर नतिरेसम्म कानुनको नजरमा एनसेलको मालिस टेलिया नै हो । टेलियाले एक्जियटालाई कम्पनी बेच्नु बेग्लै कुरा हो । आपसी सम्झौता हो । तर नेपालको कानुन अनुशार अहिले पनि टेलिया नै आधिकारिक निकाय हो ।

उद्योगले गलत गर्यो कर नतिरी एक कम्पनीको स्वामित्व अर्कोमा सार्ने सहमति उद्योग विभागले दिएको देखिन्छ । यस्तो सहमति दिने पनि कारबाहीका भागीदार हुनु पर्ने हो । पहिले १५ प्रतिशत कर राजीखुसीले तिर्ने अहिले नतिर्ने भन्ने पनि हुँदैन । गत वर्ष वैशाख २५ गते एनसेल आफैले गएर कर बुझाएको छ । त्यो रकम बुझाउँदा उसलाई कसैले जबर्जस्ती गरेको त थिएन । फेरि कसैले जबर्जस्ती गर्दैमा वा दबाब दिदैमा, सडकमा नारा लाग्दैमा कसैले पनि कुनै निर्णय गर्दैन । गर्ने भए सडकमा कति खाले माग राखेर कति किशिमका नारा लाग्छन्, खै त सरकारले निर्णय गरिहाल्दैन ।

सरकारको नियतै खराब एनसेलले तिर्नु पर्ने बाँकी करको हिसाब निकालेर तिराउने बेलामा क्याविनेटमा कर टेलियासोनेरालाई तिराउने भन्ने प्रस्ताव लिएर गइयो । यसले सरकारमा बसेका मानिसहरुको नियत स्पष्ट रुपमै खराब देखियो । जुन विषय मन्त्रिपरिषदमा लैजान नहुने हो त्यही विषय लिएर जाँनु नै नियत खराब भएको देखियो । गर्न नहुने काम गर्न खोजिएपछि यसपछाडि आर्थिक लाभको उद्देश्य राखिएको छ भनेर अनुमान गर्नु स्वभाविक हो । मन्त्रिपरिषदले आयकर ऐनको कुनै पनि दफाको बर्खिलाप हुने गरी केही पनि निर्णय गर्नैै सक्दैन । गर्यो भने पनि आन्तरिक राजश्व विभाग, त्यसका महानिर्देशक र त्यसअन्तर्गतका कर्मचारीहरु त्यस्तो निर्णय पालना गर्न बाध्य हुँदैनन् ।

एनसेलले कसैगरी पनि मुक्ति पाउँदैन एनसेलले जे सुकै गरोस् जस्तो सुकै गरोस् पूँजीगत लाभकरबाट उन्मुक्ति पाउन सक्दैन । मानौ पोहोर १५ प्रतिशत कर तिर्दा म त्यो बेला उनीहरुले ‘हामी बहुलाएको थियौं, सिम बहिष्कारको दबाब आयो, टेलियाको स्थायी संस्थापना नेपालको एनसेल होइन, सिइओको तलब पनि हामीले उतैबाट दिएका छैंनौं । पहिले कर तिर्नु भूल हो । गल्ति गर्यौं ।’ भनेर उनीहरु आए भने पनि आयकर ऐनको अर्को दफा ३५ मा टेकेर एनसेलबाट कर असुल्न सकिन्छ । त्यो दफामा यदि कसै गरी कम कर तिर्ने प्रबन्ध गरिएको छ भने एनसेलको सम्पत्ति उसको चेनमा भएको अर्को कुन कम्पनीमा गएको हो त्यसमै कर लगाउन सक्छ ।

त्यो पनि भएन भने दफा ५७ ले एनसेलको सम्पत्ति र दायित्व मूल्यांकन गरेर पनि कर लागउन सक्छ । मानौ एनसेलले सबै बाटो बन्द गर्दै आयो । कर नतिर्ने नियत देखायो भने एउटा सामान्य कर अधिकृतले दफा ५७ मा भएको अधिकार प्रयोग गरेर एनसेलको सम्पत्ति मूल्यांकन र दायित्व निकाल्नु पर्छ भनेर निर्णय गरिदियो भने नेपालको कुनै निकायमा गए पनि करबाट जोगिन सम्भव छैन । कर असुल्ने त्यस्तो अधिकार कर अधिकृतलाई हुन्छ । यसमा मन्त्रिपरिषद्ले जे सुकै निर्णय गरोस मतलव हुँदैन ।

अहिलेको हकमा ठूला करदाता कार्यालयका कर्मचारीले एनसेलबाट लिनु पर्ने करमा अहिले वेवास्ता गरेर बसिरहे पनि कुनै बेला त देशप्रेम गर्ने कोही न कोही त आउलान नी । एनसेलको सम्पति ३०० अर्ब र तिर्नु पर्ने ७० अर्ब भनेर कुनै कर अधिकृतले तोकिदियो भने के हुन्छ ? ३३ अर्ब नतिर्दा ७० अर्बको भार पर्यो भने ? यसकारण कसै गरे पनि कसैले चाहेर पनि नचाहेर पनि एनसेलले कर तिर्नै पर्छ । यसबाट उसलाई कसैले पनि जोगाउन सक्दैन ।

किन हल्का ? ३३ अर्ब कर टलियालाई तिराउने भनेर हल्का ढंगबाट मन्त्रिपरिषदमा प्रस्ताव लगियो । त्यसबारे प्रस्ताव लैजानेहरुले संसदको समितिमा गएर जवाफ पनि दिए । कर लगाउने नलगाउने अधिकार जनप्रतिनिधिलाई हुन्छ । संविधानमै लेखिएको छ –कानुनबमोजिम बाहेक कर लगाइने छैन । कर लगाउने अधिकार जनप्रतिनिधिलाई मात्रै हुन्छ । जनप्रतिनिधि छान्न चाहिँ नपाउने, कर चाहि तिर्नु पर्ने अवस्था आए जनताले कर तिर्दिन भन्न पाउँछन् । यसको अर्थ के भने कर लगाउने वा नलगाउने भन्ने अधिकार त व्यवस्थापिका संसदमा निहित हुन्छ । मन्त्रिपरिषदमा हुँदैन ।

कर अधिकृलाई अख्तियार लाग्दैन कर अधिकृतले पूर्णतः कर छुट दियो भने पनि अख्तियार लाग्दैन । अर्थात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यही विषयलाई लिएर पक्राउ गर्न सक्दैन । एनसेलको कुरामा पनि एक कर अधिकृतले चाह्यो भने एनसेलको कर छुट गरिदिन सक्छ । तर कहिले काही विषय यति स्पष्ट हुन्छ कि कर अधिकृतले केही गर्नै सक्दैन । जब कानुन अस्पष्ट हुन्छ भने त्यही अस्पष्टतामा टेकेर उसले निर्णय गर्छ । तर कानुन स्पष्ट हुन्छ भने त्यस्तो निर्णय गर्न उसले पनि सक्दैन । गरिहाल्यो भने पनि उसलाई अख्तियार लाग्दैन । तर त्यस्तो निर्णय गरेपछि उसले अनुचित लाभ आर्जन गर्यो भने जुनसुकै बेला पनि अख्तियार लाग्न सक्छ ।’

विशेष