अपराध सुरक्षा

विद्युत् चुहावटमा संलग्न २० जना पक्राउ

विद्युत् चुहावटमा संलग्न २० जना पक्राउ

चैत १४ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् ।

नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार राति उनीहरुलाई विद्युत् चोरी गर्दागर्दै विद्युतीय उपकरणसहित पक्राउ गरिएको अनारमनी वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले जानकारी दिए ।

सिंहका अनुसार उनीहरुलाई सुरुङ्गाको प्रजापति टोलबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको बताइएको छ ।

उनीहरुका साथबाट टोलीले सिँचाइको मोटर, त्यसमा प्रयोग गरिने विद्युतीय तार बरामद गरेको छ । त्यस्तै हुकिङ गरेर घरमा जडान गरिएको तार, मिटर समेत बरामद गरिएको प्राधिकरणका इञ्जिनियर धीरेन्द्र बजगाईंले जानकारी दिए ।

विद्युत् चुहावट नियन्त्रण ऐनअन्तर्गत उनीहरुमाथि कारबाही अघि बढाइने नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका केन्द्र प्रमुख सिंहले बताए ।

Bidhut Chori

विशेष