वीरगन्ज भन्सारमा राजस्व सङ्कलन एक अर्बले कमी
चैत्र - १४ । वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । नाका प्रयोग गरी नेपालका लागि हुने सवारी साधन आयातमा कमी आएका कारण राजस्व सङ्कलन घटेको कार्यालय प्रमुख सेवन्त पोखरेलले बताए ।
भारत तथा तेस्रो मुलुकबाट आयात भएका जिप तथा कारमा नेपाली बैंकले लगानी गर्न नमानेपछि तिनको आयात घटदा सोको असर राजस्व सङ्कलनमा परेको उनले जानकारी दिए ।
कार्यालयले आव २०७३/७४को फागुन महिनामा नौ अर्ब सात करोड २६ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर आठ अर्ब नौ कारोड ८५ लाख ९४ हजार, अर्थात् ९७ करोड ४० लाख ९४ हजार राजस्व सङ्कलन न्यून भएको कार्यालय प्रमुख पोखरेलले बताए ।
देशकै प्रमुख भन्सार नाकाका रुपमा रहेको वीरगन्जबाट नेपालका लागि हुने सवारी साधन तथा इन्धन आयातबाट सबैभन्दा बढी राजस्व सङ्कलन हुँदै आएको थियो । कुल राजस्वमध्ये ५७ प्रतिशत राजस्व सवारी साधन तथा इन्धन आयातबाट सङ्कलन हुने गरेको कार्यालयले जनाएको छ ।
फागुन महिनामा मात्र वीरगन्ज नाका प्रयोग गरी भएका सवारी साधन तथा इन्धन आयातबाट कार्यालयले पाँच अर्ब १६ करोड २९ लाख दुई हजार राजस्व सङ्कलन गरेको थियो । सङ्कलित राजस्व कुल राजस्वको ५६.९० प्रतिशत रहेको छ ।
बैंकले लगानी नगर्दा नेपालका लागि आयात गरिएको करिब चार हजार जिप कार सीमावर्ती भारतीय सहर रक्सौलको विभिन्न स्थानमा थन्किएको सम्बद्ध भन्सार एजेन्टको भनाइ छ ।
राजस्व सङ्कलन