अपराध सुरक्षा

हाजिरी गरि दिनभरि अनुपस्थित हुने पर्साका मालपोत प्रमुखलार्इ स्थानीयले बुझाए जिप्रकामा

हाजिरी गरि दिनभरि अनुपस्थित हुने पर्साका मालपोत प्रमुखलार्इ स्थानीयले बुझाए जिप्रकामा
चैत्र - १६ । वीरगन्ज उपमहानगरपालिका–२ का स्थानीयले मालपोत कार्यालय, पर्साका कार्यालय प्रमुख प्रकाश पोख्रेललाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्। कार्यालय प्रमुख पोख्रेलले बिहान ९ बजे कार्यालय पुगेर हाजिरी पुस्तिकामा हाजिर गर्ने र त्यसपछि दिनभरि अनुपस्थित हुने गरेको भन्दै बुधबार स्थानीयले उनलाई नियन्त्रणमा लिई जिप्रका, पर्सामा बुझाएका हुन्। जनताको काम नगरी सर्वसाधारणलाई दुःख दिने गरेको र जनताको समस्या नसुनी आफ्नो मनोपोली गर्ने गरेको भन्दै आक्रोशित स्थानीयले उनलाई आवश्यक कारवाहीका लागि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेललाई बुझाएका हुन् । घटनाका सम्बन्धमा पर्साका सहायक प्रजिअ पौडेलले कर्मचारी भनेको प्रत्यक्ष रुपमा जनताका सेवक हुन् र उसले जनताको काम नगरी आलटाल गर्न नहुने भन्दै कुनै कर्मचारीले गल्ती गरेको छ भने त्यसलाई कारबाही हुने बताए। मालपोत कार्यालय पर्साका प्रमुख पोख्रेलले अनलाइन सेवा नभएकाले गर्दा मालपोत कार्यालयमा केहि समस्या आएको बताउँदै मन्त्रालयले खटाएको काममा आफू खटिँदा कुनैबेला बिहानै हाजिर गर्नु परेको बताए। उनले मालपोत कार्यालय पर्सामा केही त्रुटि भए त्यसलाई आगामी दिनमा सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। रासस

पर्सा

विशेष