अर्थ

नेपाल बैंक लिमिटेडले चुक्ता पुँजी आठ अर्ब पुर्याउँदै

नेपाल बैंक लिमिटेडले चुक्ता पुँजी आठ अर्ब पुर्याउँदै
चैत्र–२० । मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षभित्र आफ्नो चुक्ता पुँजी न्यूनतम रु आठ अर्ब पुर्याउने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ । बैंकको अाइतबार आयोजित सन्ताउन्नौँ साधारणसभामा प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकको चुक्ता पुँजी रु आठ अर्ब पुर्याउने लक्ष्यका साथ काम भइरहेको बताए । चालु आवमा बैंकको सञ्चालन परिणाम उत्साहवद्र्धक रहेको जानकारी दिँदै उनले निक्षेप १४.६३ प्रतिशतले वृद्धि भई रु ८९ अर्ब ४१ करोड पुगेको र कर्जा १८.९९ प्रतिशतले वृद्धि भई रु ६३ अर्ब ५२ करोड पुगेको जानकारी दिए । बैंकको लगानी रु १२ अर्ब ८७ करोड पुगेको र जगेडा कोष रु दुई अर्ब ४८ करोडले धनात्मक रहेको उनले जानकारी दिए । बैंकको पुँजी कोष २.७० प्रतिशतले वृद्धि भई १०.२० प्रतिशत पुगेको छ भने निष्क्रिय कर्जा ०.८७ प्रतिशतले घटेर ३.११ प्रतिशत रहेको छ । साधारणसभामा दिइएको जानकारीअनुसार बैंकलाई वित्तीय रुपले सबल तुल्याउन बैंकको उपयोगमा नआएका बैंकिङ सम्पत्तिको बिक्री गरिने, चुक्ता पुँजी बढाउन १०ः२.३ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको छ । बैंकले कृषि, जलविद्युत्, घरेलु, साना तथा मझौला उत्पादनमूलक उद्योग, प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी वृद्धि योजना लागू गर्दै अरू नयाँ योजना ल्याई प्रतिस्पर्धी ब्याजदरमा सेवा विस्तार गर्ने कार्ययोजना लागू गर्ने चरणमा रहेको बैंकका जनसम्पर्क अधिकृत सूर्यमान राजभण्डारीले जानकारी दिए । सभामा बैंकका अध्यक्ष जनार्दन शर्मा आचार्यले चालु आवको वार्षिक प्रतिवेदन र भावी योजना प्रस्तुत गरेका थिए । रासस

चुक्ता पुँजी नेपाल बैंक लिमिटेड

विशेष