अपराध सुरक्षा

नलसिङगाडमा २७ करोड ‘भ्रष्टाचार’, कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा

नलसिङगाडमा २७ करोड ‘भ्रष्टाचार’, कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा

चैत २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङगाड जलविद्युत् आयोजनामा भ्रष्टाचार गरेको आरोपमा आयोजनाका कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोजनाको विस्तृत् सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटमा २७ करोड २४ लाख ५४ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकाहरुमा आयोजना प्रमुख मोतीबहादुर कुँवर, तत्कालीन सिनियर डिभिजन इन्जिनियर सूर्यप्रसाद रिजाल, र ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ रहेका छन् ।

यस्तै, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाइँ, विद्युत विकास विभागका तत्कालीन कानुन अधिकृत राजेशकुमार थापा र एसएमइसी कम्पनीका नेपाल प्रतिनिधि उदीपलाल श्रेष्ठविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

उनीहरुले डीपीआर निर्माणको परामर्शदाता हचुवाको भरमा छनोट गरी नलसिङगाड आयोजनालाई ठूलो नोक्सानी पुर्‍याएको पाइएको अख्तियारको दाबी छ ।

छनोटका लागि कम मूल्य प्रस्ताव गर्नेलाई नियतवश कम अंक दिएको, डिटेल इन्जिनियरिङ सर्भे र डिजाइन पेस गर्नुपर्नेमा एसएईसीको हकमा डिटेल कन्ट्रक्सन ड्रोइङलाई नै डिटेल इन्जिनियरिङ सर्भे र डिजाइन मानेको पाइएको जिकिर पनि अख्तियारले गरेको छ ।

आयोगले अभियुक्तहरुबाट नोक्सानी बराबरको विगो र १३ करोड ६२ लाख रुपैयाँ जरिवाना तथा एक वर्ष जेल सजाय माग गरेको छ ।

Nalsing Gad

विशेष