अर्थ

नेपाल टेलिकमद्वारा निशुल्क सिमकार्ड वितरण

नेपाल टेलिकमद्वारा निशुल्क सिमकार्ड वितरण

चैत २२ । नेपाल टेलिकम बागलुङले आफ्ना ग्राहकलाई निःशुल्क रुपमा सिमकार्ड वितरण गर्ने भएको छ ।

बागलुङमा जारी चैत्राष्टमी मेलामा ‘स्टल’ नै राखेर टेलिकमले प्रिप्रेड मोबाइलको सिमकार्ड बाँडेको हो । दुई दिनमै एकहजार भन्दा बढीले सिमकार्ड लगेको टेलिकम कार्यालयले जनाएको छ ।

भोलि मेला भर्न आउने दर्शकलाई निःशुल्क रुपमा सिमकार्ड उपलब्ध गराइने कार्यालय प्रमुख केशव शर्माले बताए । ग्राहकले एकप्रति फोटो र नागरिकताको प्रतिलिपिमात्र बुझाएर रु ५० ‘ब्यालेन्स’ भएको सिमकार्ड निःशुल्क पाएका छन् ।

‘बजार प्रबद्र्धनको लागि र ग्राहकको सुविधाका लागि निःशुल्क रुपमा सिमकार्ड वितरणको व्यवस्था मिलाएका हौं’ कार्यालय प्रमुख शर्माले भने ।

मेला हेर्न आएको बेला अघिपछि रु १०० पर्ने सिमकार्ड निःशुल्क रुपमा लान पाएपछि ग्राहक खुसी भएका छन् । बागलुङ नगरपालिका– १२ कि बिमाया परियारले नेपाल टेलिकमले ग्राहकको मन जित्ने काम गरेको प्रतिक्रिया दिइन् । उनले मेलास्थलमै निःशुल्क सीमकार्ड पाएकोमा खुसी व्यक्त गरेकी छिन् ।

सिमकार्डको ‘स्टल’ मा फाराम भर्ने र सिमकार्ड लिने ग्राहकको भीड लागिरहेको टेलिकमका कर्मचारीले बताएका छन् । मेला, महोत्सवमा यसरी नै निःशुल्क रुपमा सिमकार्ड उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख शर्माले जानकारी दिए । टेलिकमले नयाँ मोबाइल टावर राखिएका ठाउँमा पनि केही दिनको ‘क्याम्प’ राखेर निःशुल्क सिमकाड बाँड्ने गरेको छ ।

जिल्लाको तमान लगायतका ठाउँमा निःशुल्क सिमकार्ड वितरणको ‘क्याम्प’ राख्ने तयारी भएको टेलिकम कार्यालयले जनाएको छ ।

विशेष