पर्यटन

आरोही धमाधम गन्तव्यतर्फ

आरोही धमाधम गन्तव्यतर्फ
चैत २२ । वसन्त ऋतुको आगमनसँगै सगरमाथालगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही यतिखेर धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । हिमालचुली आरोहणका लागि आजसम्म ३० वटा आरोहण समूह विभिन्न मितिमा त्यसतर्फ गएको पर्यटन विभागले जनाएको छ । विभागबाट आरोहण अनुमति लिएर एकसाताअघिदेखि विभिन्न समूह आरोहणमा गएको र अझै आरोही आउने क्रम जारी रहेको विभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले जानकारी दिए । उनकाअनुसार अहिलेसम्म सगरमाथा आरोहणका लागिमात्र १७ वटा समूहका १४७ आरोही गएका छन् । त्यसैगरी अन्नपूर्ण दुई, धवलागिरि एक, मकालु एक, ल्होत्से एक, गौरीशंकर एक, आमा दब्लङ्कम एकलगायत समूह आरोहणका लागि गएका छन् । आरोहणका लागि सम्पर्क अधिकृत पनि खटाइसकिएको विभागले जनाएको छ । छ हजार ५०० मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । आरोहीहरु हिमालतिर लागे पनि वैशाखको तेस्रो सातादेखिमात्र आरोहण सुरु हुने जनाइएको छ । कतिपय आरोहण समूह अझै केही दिनसम्म आउनेछन् । अघिल्लो वर्षको वसन्त ऋतुको आरोहण वैशाख २९ गतेबाट सुरु भएको थियो । सगरमाथाको मात्र अघिल्लो वर्ष ४०० बढीले सफल आरोहण गरेका थिए । अघिल्लो मौसममा सगरमाथासहितको हिमाल आरोहणका लागि ९७ समूहका एक हजार ४६२ आरोही गएका थिए तीमध्ये सगरमाथामा मात्र ३४ वटा आरोहण समूह भएको विभागले जनाएको छ ।

Mt Everest

विशेष