अपहरण आरोपमा जिप्रका झापाका खरिदारसहित तीन पक्राउ
चैत्र - २८ । जिल्ला प्रशासन कार्यालय झापाका खरिदारसहित तीनलाई प्रहरीले मानव अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका घर भई जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत खरिदार तेजेन्द्र न्यौपाने, सोही स्थानका प्रेम न्यौपाने र भूपू कान्छा भनिने अजय राई रहेका छन्। उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार उनीहरुले शनिश्चरेका जीवन विष्टलाई अपहरण गरी खाली कागजमा हस्ताक्षर गराउँदै रु १५ करोड मूल्य पर्ने जग्गा प्रेम न्यौपानेका नाममा रजिष्ट्रेशन पास गराएका थिए।
विष्टको नाममा दर्ता कायम रहेको अनारमनी–७ स्थित भद्रपुर रोडको १६९ र १७० कित्ता नम्वरको ५ कठ्ठा १६ धुर जग्गा उनीहरुले शरीर बन्धक बनाएर गत मागमा न्यौपानेको नाममा रजिष्ट्रेसन पास गरेको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको र आज जिल्ला अदालत झापाबाट उनीहरुलाई मानव बेचविखन तथा शरीर बन्धक मुद्दामा म्याद थप गर्ने तयारी गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए।
अपहरण