अर्थ

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आज, ५७ पदका लागि निर्वाचन

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आज, ५७ पदका लागि निर्वाचन

चैत्र २९ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि ५७ वटा पदमा निर्वाचन हुँदैछ ।

निर्वाचन गठित समितिले उम्मेदवारी फिर्ता लिन दिएको समयसीमाभित्र केही पदमा मात्रै उम्मेदवारी फिर्ता भएपछि अधिकांश पदमा निर्वाचन हुने निश्चित भएको हो ।

महासंघको ६४ पदमा १ सय १२ जनाको उम्मेदवारी परेको थियो । ‘यसमध्ये १४ जनाले सोमबार तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिनुभयो । दुईवटा प्रदेशअन्तर्गत दुईजना सदस्य सर्वसम्मत भएका छन्। प्रदेश नम्बर २ मा विजयकुमार शाहले उम्मेदवारी फिर्ता लिएपछि गणेशप्रसाद लाठ सर्वसम्मत भएका हुन् । त्यस्तै प्रदेश नम्बर ७ बाट डम्बरबहादुर भण्डारी, माधवप्रसाद भट्ट र देवबहादुर रोकायाले उम्मेदवारी फिर्ता लिएपछि प्रकाशबहादुर साउद सर्वसम्मत भएका छन् ।

उम्मेदवारी नै एकजनाको मात्रै परेपछि सुरुमै ५ जना सर्वसम्मत भइसकेका छन् । एसोसिएटतर्फको उपाध्यक्ष पदमा पनि चन्द्र ढकालको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भइसकेका छन् । प्रदेश नम्बर तीनमा कमलकुमार श्रेष्ठ, ५ नम्बर प्रदेशबाट भीमबहादुर थापा, संस्थापक समूहतर्फको अविनाश बोहरा, द्विराष्ट्रियतर्फका अजय मुडभरी सर्वसम्मत भइसकेका हुन् ।

गत कात्तिक ४ गते महासंघको विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरेपछि योपटकबाट वरिष्ठ उपाध्यक्ष पदलाई मुख्य मानी निर्वाचन हुने भएको छ । संशोधित विधानअनुसार हालकी वरिष्ठ उपाध्यक्ष भवानी राणा आगामी कार्यकालका लागि अध्यक्ष हुने निश्चित भइसकेको छ । उनले आगामी कार्याकालको नेतृत्व लिँदै छिन् । वरिष्ठ उपाध्यक्ष पदमा भने हालका उपाध्यक्षद्वय शेखर गोल्छा र किशोरकुमार प्रधानले उम्मेदवारी परेको ।

FNCCI Nirbachan

विशेष