तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला वैशाखमा
चैत्र–३० । तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला वैशाख ७ देखि ११ गतेसम्म काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा ‘तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी-२०७४’ प्रदर्शनी हुन् लागेको हो ।
महासङ्घले आज पत्रकार सम्मेलन गरी नेपाली उद्योगको संस्थागत विकास, लघु, घरेलु तथा साना उद्योगमा प्रविधि प्रतिस्थापन, व्यवसायी क्षमता विकासमा प्रदर्शनी गर्न लागिएको जानकारी दिएको हो ।
महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योग प्रविधि प्रयोग र अन्य क्षमताका हिसाबले प्रतिस्पर्धा बन्न नसकेको भन्दै उद्योग क्षेत्रमा प्रविधिको विकासका लागि प्रदर्शनीले ठूलो सहयोग पुग्ने बताए । उनले प्रदर्शनीले अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे ।
महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मीले ६० वटा नवीन प्रविधिसहित २०० भन्दा बढी प्रदर्शनी कक्ष राखिने जानकारी दिए । उनले चीन, भारत, पाकिस्तान, बङ्गलादेशलगायत छिमेकी मुलुकमा उत्पादित वस्तुसमेत प्रदर्शनमा राख्न लागिएको बताए ।
पाँच दिनसम्म चल्ने मेलामा एक लाखभन्दा बढीले अवलोकन गर्ने र रु छ करोड बराबरको कारोबार हुने आयोजकले जनाएको छ । मेलाको तयारी अन्तिम चरणमा पुगेको महासङ्घले बताएको छ ।
अन्तर्राष्ट्रिय
औद्योगिक व्यापार मेला
वैशाख