अर्थ

यस्ता छन् नवनिर्वाचित राणाका २६ बुँदे कार्ययोजना

यस्ता छन् नवनिर्वाचित राणाका २६ बुँदे कार्ययोजना

चैत्र ३१ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष भवानी राणाले २६ बुँदे कार्ययोजना सार्वजनिक गरेकी छन् ।

बुधबार पदभार ग्रहण गर्दै राणाले निजी क्षेत्रको समुन्नत विकास, मानव संसाधन व्यवस्थापन, नेपाल भारत इकोनोमिक समिट, निकासी वृद्धिका लागि उत्पादनमा विविधीकरण लगायतका २६ बुँदे कार्ययोजना सार्वजनिक गरेकी हुन् ।

नवनिर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरूलाई एकजुट भएर काम गर्न आग्रह गर्दै निजी क्षेत्र र आर्थिक समृद्धिका विषयमा प्रतिवद्ध हुुनुपर्नेमा उनले जोड दिइन् । राणाले बुधबारदेखि महासंघको नेतृत्व सम्हालेकी हुन् ।

निवर्तमान अध्यक्ष पशुपति मुरारकाले राणालाई सपथपछि महासंघको प्रतीक चिह्न अंकित पिन लगाइदिँदै सफलताको शुभकामना दिए । अध्यक्ष राणाले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित अन्य उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यहरूलाई सपथ ग्रहण गराइन् ।

यसअघि निर्वाचन समितिले सबै सदस्य तथा पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेको थियो । समारोहपछि आयोजित पहिलो कार्यसमिति बैठकले एसोसिएटबाट निर्वाचित सदस्य ज्ञानेन्द्रलाल प्रधानलाई सर्वसम्मतिले कोषाध्यक्षमा निर्वाचित गरेको छ ।

राणा र उनको समूहले निर्वाचनअगावै ‘लक्ष्य हाम्रो आर्थिक समृद्धिको’ भन्ने नारासहित एजेन्डाहरू सार्वजनिक गरेको थियो । सोही एजेन्डालाई पूरा गर्न राणाले कार्ययोजना सार्वजनिक गरेकी हुन् ।

जसमा आउँदो १० वर्षमा औद्योगिक, निर्माण, कृषि तथा सेवाक्षेत्रलाई आवश्यक पर्ने जनशक्तिको आँकडा महासंघले तयार गर्ने र सोही बमोजिम तालिम प्रदान गर्ने उल्लेख छ ।

जस्तोसुकै राजनीतिक अस्थिरता भए पनि आर्थिक विकासको गति रोकिन नदिन ‘मुलुकको समग्र दीगो विकास र आर्थिक समुन्नतिका लागि संकल्प प्रस्ताव’ संसदबाट पारित गराइ लागू गर्न सबै राजनीतिक दल, सरकारलगायतका सरोकारवालाहरूसँग सहकार्य गर्ने प्रतिवद्धता उनले व्यक्त गरेकी छन् ।

उनले मुलुकको समग्र आर्थिक विकास तथा निजी क्षेत्रसँग सम्बन्धित नीति तथा ऐन कानुनका सन्दर्भमा महासंघको धारणा निर्माणका लागि प्रवुद्ध व्यक्तित्वहरूको सहभागितामा विज्ञ समुह गठन गर्ने कार्ययोजना अगाडि सारेकी छन् ।

वर्सेनि बढ्दै गएको व्यापार घाटालाई लक्षित गर्दै गैरभन्सार अवरोध अन्त्य गर्ने तथा यसका लागि ‘नेपाल–इन्डिया इकोनोमिक समिट’ आयोजना गर्ने कार्ययोजनामा उल्लेख छ । महासंघको सांगठनिक सुदृढीकरण तथा सशक्तीकरणका लागि जिल्ला तथा नगर उद्योग वाणिज्य संघको क्षमता अभिवृद्धि, सचिवालयको आधुनिकीकरण गर्ने तथा राज्य पुनर्संरचनाको अवधारणा बमोजिम महासंघको संरचना पनि प्रान्तिय स्वरूपमा लैजाने योजना राखिएको छ । यस्तै, प्रमुख ७ सहरमा स्मार्ट सिटी स्थापना गरी यसका लागि निजी क्षेत्रले नै अवधारणा निर्माण गर्ने जनाइएको छ ।

कारोबार

Bhawani Rana Nepal Udyog Banijya Mahasang

विशेष