अपराध सुरक्षा

बालकृष्ण ढुंगेललाई पक्राउ गरी कैद गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको लिखित निर्देशन

बालकृष्ण ढुंगेललाई पक्राउ गरी कैद गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको लिखित निर्देशन

बैशाख १ । सर्वोच्च अदालबाट सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई अविलम्ब पक्राउ गर्न सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई बिहीबार लिखित निर्देशन पठाएको छ ।

अदाललतले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई पठाएको पत्रमा कसुरदार ढुंगेललाई अविलम्ब पक्राउ गरीरगराइ फैसलाबमोजिम कैदमा राख्ने व्यवस्था मिलाउन मातहतका गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय तथा सम्बन्धित प्रहरी कार्यालयसमेतलाई निर्देशन दिन भनिएको छ ।

सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय हुने ठहरी २०६६ पुस १९ गते भएको फैसलाबमोजिम निजको बेरुजु कैद १२ वर्ष पाँच महिना २२ दिन असूलउपर गर्न कसुरदार ढुंगेललाई अविलम्ब पक्राउ गरी कैद राख्ने व्यवस्था गर्न निर्देशनपत्रमा भनिएको छ ।

लिखित निर्देशनमा अदालतबाट सर्वस्वसहितको जन्मकैद फैसला सुनाइएका कसुरदार ढुंगेललाई पक्राउ गरी फैसला कार्यान्वयन गर्न सहयोग गर्ने काम सरकारबाट नभएको र गृह प्रशासनबाटसमेत मातहत प्रहरी निकायलाई अदालतको फैसला कार्यान्वयन गर्नेतर्फ ठोस आदेश तथा निर्देशन नभएको महसुस हुन आएको पनि पत्रमा उल्लेख छ ।

ढुंगेलको ‘सर्वोच्च अदालतको फैसला मान्दिनँ, खारेज गरिदिन्छु, गिरफ्तारीको आदेशलाई खारेज गरिदिन्छु’जस्ता अभिव्यक्तिले सर्वसाधारणमा अदालतप्रति अनास्था सिर्जना गरी अदालतको फैसलालाई नमान्ने स्थितिको सिर्जना गराएको उल्लेख छ ।

यसैबीच, बिहीबारै सर्वोच्च अदालतले पूर्वसभासद ढुंगेलविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा सात दिनभित्र पक्राउ गरी कैद गर्ने व्यवस्था मिलाउन सरकारको नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सो आदेश दिएको हो ।

ढुंगेलले सार्वजनिक स्थानमा आफूलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाउने तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठविरुद्ध अदालतको अवहेलना हुने गरी दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता दिनेश त्रिपाठीले बुधबार अदालतमा मुद्दा दायर गरेका थिए ।

Bal Krishna Dhungel

विशेष