अर्थ कर्पोरेट

विश्व बैंकको सहयोगले ग्रामीण सडक निर्माण द्रूतगतिमा

विश्व बैंकको सहयोगले ग्रामीण सडक निर्माण द्रूतगतिमा
बैशाख - २ । विश्व बैंकको आर्थिक सहयोगमा राष्ट्रिय ग्रामीण सुदृढीकरण कार्यक्रम (एसएनआरटिपि) अन्तर्गत कञ्चनपुरमा चारवटा सडक निर्माणको कार्यलाई अगाडि बढाइएको छ । सडक निर्माण अन्तर्गत स्तरोन्नति गर्ने र ओटासिल प्रविधि मार्फत कालोपत्रे गर्ने कार्यलाई दू्रतगतिमा अगाडि बढाइएको छ । भीमदत्तनगरपालिका, बेदकोट नगरपालिका, पुनर्बास नगरपालिका, लालझाडी गाउँपालिका र महाकाली नगरपालिकामा सडक निर्माणको कार्य अगाडि बढाइएको जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर केदार शर्माले बताए । उनका अनुसार भीमदत्तनगरपालिकाको रेडक्रस, बागफाँटा, सुन्दरपुर र सिसैयासम्मको सडकको ४.२५ किलोमिटरमा ओटासिल प्रविधि मार्फत कालोपत्रेको कार्य गरिएको छ । बाँकी सडकमा माटो, ग्राभेल राखेर स्तरोन्नतिको कार्य गरिएको छ । सडक निर्माणका लागि पाँच करोड एक लाख ६५ हजार ६ सय १४ रुपैयाँ बजेटको व्यवस्था गरिएको छ । वाणि देखतभूली ६.७६९ किलोमिटर सडकमा ओटासिल प्रविधिबाट कालोपत्रे गर्नका लागि तीन करोड ९२ लाख ८२ हजार नौ सय ९७ रुपैयाँ बजेट विनियोजन कार्यलाई अगाडि बढाइएको छ । पुनर्बास नगरपालिकाको परासन, त्रिभुवनबस्ती, लक्ष्मीपुर, बेलौरी २५.७ किलोमिटर सडकलाई दुई चरणमा सम्पन्न गर्नेगरी कार्य अगाडि बढाइएको छ । ‘पहिलो चरणमा तीन करोड ४९ लाख ५५ हजार चार सय सात रुपैयाँ लागतमा सडकको १० किलोमिटर र दोस्रो चरणमा चार करोड ३१ लाख ४९ हजार ६ सय ५२ रुपैयाँ को लागतमा १५ किलो मिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्नेगरी कार्यलाई अगाडि बढाएका छौँं” इन्जिनियर शर्माले भने। महाकाली नगरपालिकाको झोलुङ्गे पुल, कृतियाकभर ६ करोड ६६ लाख रुपैयाँ को लागतमा कालोपत्रे हुने सडक निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । बेदकोट नगरपालिकाको पूर्व–पश्चिम राजमार्गदेखि गाउँजी वृद्धाश्रमसम्मको ६ किलोमिटर सडकमा ग्राभेल राखी स्तरोन्नतिको कार्य गरिएको छ । ओटासिल कालोपत्रेको माग भएकाले प्रक्रियामा रहेको छ । वाणि, देखतभूली, कञ्ज, शङ्करपुर, पचगडियासम्मको सडक निर्माणका लागि डिपिआर तयार गरिएको छ । निर्माणाधिन सडकमा स्तरोन्नतिका लागि माटो, ग्राभेल राख्ने कार्यसँगै आवश्यकता भएका ठाउँमा स्ल्याब कल्भर्ट र पाइप कल्भर्टसमेत राखिएका छन् । कार्यक्रम अन्तर्गत मलेरिया नाला र खर्सा नालमा पुलनिर्माणका लागि डिपिआर तयार गरी परियोजना व्यवस्थापन इकाई बुटवलमा पठाइएको मुख्य इन्जिनियर शर्माले बताए । अन्य पाँचवटा सडकमा नियमित मर्मत सम्भारको कार्यसमेत गरिँदै आएको छ । राष्ट्रिय ग्रामीण सुदृढीकरण कार्यक्रम (एसएनआरटिपि) कञ्चनपुरमा सन् २०१४ मे महिनादेखि सुरु भई सन् २०१९ मा सकिने छ ।

World Bank

विशेष