अपराध सुरक्षा

ढुंगेललाई पक्रिन प्रहरीको विशेष संयन्त्र

ढुंगेललाई पक्रिन प्रहरीको विशेष संयन्त्र

वैशाख ३ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसांसद बालकृष्ण ढुंगेललाई पक्राउ गर्न प्रहरीले विशेष संयन्त्र परिचालन गरेको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशपछि प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गर्न विशेष संयन्त्र बनाएर परिचालन गरेको हो ।

सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका माओवादी केन्द्रका नेता ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न तीन दिनअघि वारेन्ट आदेश जारी गरेपछि प्रहरीले पक्राउका लागि थप सक्रियता देखाएको हो । सो निर्देशनपछि प्रहरी प्रधान कार्यालयले उनको गृहजिल्ला ओखलढुंगा जिल्ला प्रहरी कार्यालयलगायत सबै मातहत निकायलाई आन्तरिक सर्कुलर गरेर तत्काल पक्राउ गरी अदालत पेस गर्न भनेको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको बिहीबारको इजलासले हत्या अभियोगमा दोषी ठहर भएका ढुंगेललाई एक साताभित्र पक्राउ गर्न सरकार, प्रहरी प्रधान कार्यालय तथा प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो ।

अदालतको फैसलालाई चुनौती दिँदै सार्वजनिक कार्यक्रममा सहभागी भएर अदालतप्रति भ्रम फैलाएको भन्दै एक साताभित्र पक्राउ गर्न सर्वोच्चले भनेको थियो । ‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई सात दिनभित्र पक्राउ गरी जानकारी गराउन प्रहरी महानिरीक्षकका नाममा आदेश जारी गरिन्छ,’ सर्वोच्च अदालतले भनेको छ ।

सर्वोच्च आदालतले मिति तोकेरै ढुंगेललाई पक्राउ गर्न आदेश दिएपछि प्रहरी प्रशासन पनि उनलाई पक्राउ गर्न अग्रसर देखिएको हो। प्रहरी प्रशासनकै अगाडि बसेर सार्वजनिक रूपमा अभिनन्दन लिने तथा सर्वोच्च अदालतलाई मानहानि गर्ने अभिव्यक्ति दिने र न्यायाधीशहरूलाई अपशब्द प्रयोग गर्ने व्यक्तिलाई पक्राउ नगर्दा कानुनी राज्यको उपहास भएको भन्दै प्रहरीको व्यापक आलोचना भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालकै पार्टीका नेता भएकाले उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन। ‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई तत्काल पक्राउ गर्नुपर्ने देखिन्छ,’ सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिँदै भनेको छ, ‘आफू र मातहतका सम्पूर्ण प्रहरी संरचना परिचालन गरी पक्राउ गर्न र जो, जससँग समन्वय गर्नुपर्ने हो त्यसमा कमी हुन नदिनु।’ ३० फागुनमा ढुंगेललाई गृहजिल्ला ओखलढुंगा तथा रामेछापको सैपुमा माओवादी जिल्लास्तरीय तथा गाउँस्तरीय कार्यकर्ताले नागरिक अभिनन्दन गरेका थिए ।

नयाँ शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीले संयुक्त रूपमा ढुंगेललाई अभिनन्दन गरेको बेला उनले सर्वोच्च अदालत तथा उनका विरुद्धमा फैसला गर्ने न्यायाधीशलाई अपशब्द प्रयोग गर्दै गाली गरेका थिए । उनले त्यस कार्यक्रममा अभिव्यक्त गरेका भनाइ भिडियोमार्फत सार्वजनिक भएपछि सर्वोच्च अदालतमा उनीविरुद्ध मानहानिको मुद्दा दायर गरिएको थियो । सो मुद्दाको सुनुवाइ गर्दै अदालतले सरकार र प्रहरी महानिरीक्षकलाई सात दिनभित्र पक्राउ गरी कारागार हाजिर गराउन निर्देशन दिएको हो ।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएपछि पीडितहरू सर्वोच्च अदालत पुगेका थिए । तर, पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

राजधानी

Balkrishna Dhungel

विशेष