अर्थ

पोखरामा पाँच सयका नेपाली नक्कली नोट छ्याप्छ्याप्ती

पोखरामा पाँच सयका नेपाली नक्कली नोट छ्याप्छ्याप्ती

वैशाख ६ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पोखरामा ५ सय रुपैयाँका नक्कली नोट छ्याप्छ्याप्ती भेटिन थालेका छन् । राष्ट्र बैंकका अनुसार चैत पहिलो सातादेखि नक्कली नोट भेटिन थालेको हो ।

यहाँस्थित राष्ट्र बैंकसम्म यस्ता नोट पुगेपछि बजारमा ठूलो परिमाणमा रहेको आशंका बैंक तथा वित्तीय संस्थाको छ । दुई फरक–फरक नम्बर रहेका नोटहरू दैनिकजसो एकरदुईवटा आउने गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । एउटै नम्बर भएकाले नक्कली हो भन्ने पहिचान गर्न सजिलो भए पनि कहाँबाट कसरी आयो भन्ने यकिन नभएको राष्ट्र बैंक पोखराका कामु निर्देशक अमर अधिकारीले बताए ।

‘बैंकहरूले शंकास्पद भनेर त्यस्ता नोट हामीलाई बुझाउन ल्याएका छन,’ उनले भने, ‘यस विषयमा मुद्रा व्यवस्थापन विभागमा जानकारी गराएका छौं ।’ बैंकिङ च्यानलमा आएका नोट मात्रै पत्ता लागेको उनले बताए । ६७९७४६ र ७९९७४६ नम्बर भएका ४८ नोटहरू राष्ट्र बैंकमा आइसकेका छन् । त्यसमा अगाडि ६७ नम्बर भएका नोट बढी छन् ।

यहाँ रहेका वाणिज्य तथा विकास बैंकका शाखामा आएका नोटहरू शंकास्पद लागेपछि राष्ट्र बैंकलाई बुझाइएको हो । सक्कलीजस्तै देखिने नोट उच्चस्तरको फोटोकपी गरेर बजारमा ल्याएको हुन सक्ने अनुमान गरिएको छ । खस्रो कागज, प्रिन्ट हल्का फुलेको र लालीगुँरासको छाप नभएको आधारमा नक्कली भनेर छुट्याउन सकिने कामु निर्देशक अधिकारीले बताए ।

Nakkai Note

विशेष