पर्यटन

बाह्य पर्यटकको आगमन बढ्यो

बाह्य पर्यटकको आगमन बढ्यो
वैशाख - ९ । म्याग्दीमा बाह्य पर्यटकको आगमनमा उल्लेख्नीय वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा म्याग्दी भ्रमणमा आउने बाह्य पर्यटकको सङ्ख्या ५२ हजार २७ रहेका छन् । अघिल्लो आर्थिक वर्षमा करिब २५ हजार पर्यटकले मात्र म्याग्दीको भ्रमण गरेका थिए । कात्तिक महिनामा सबैभन्दा बढी पर्यटकको आगमन भएको कार्यालयका प्रहरी निरीक्षक दामोदर घिमिरेले बताउनुभयो । बेनी, घोडेपानी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरी चौकीले पर्यटकको तथ्याङ्क राख्ने गरेका छन् । हिमाली पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वारको रुपमा चिनिएका म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, खोप्रा, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रिय, धौलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत विभिन्न धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलको भ्रमणका लागि पर्यटक आउने गर्छन् । देशको अवस्था सहज भएको र बन्द हडताल नभएकाले यस वर्ष पर्यटक आगमन उत्साहजनक भएको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष जुनबहादुर पुनले बताए । '२०७१ को हुदहुद आँधी, २०७२ को सुरुमै गएको भूकम्प र नाकाबन्दीका कारण थलिएको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ' अध्यक्ष पुनले भने, 'बन्द हडताल नहुने र राजनीतिक वातावरण सहज भएमा पर्यटक आगमन अझै बढ्छ ।'

Tourist

विशेष