नेपाल टेलिकमका अफर अहिलेसम्मकै सस्ता तर चर्चा कम
बैशाख–११ । नेपाल टेलिकमले यो बेला यसअघि नेपाली उपभोक्ताहरुले कहिल्यै नपाएको सस्तो अफर बजारमा लगेको छ । इन्टरनेटका लागि नेपाल टेलिकमले दिएको अफर सर्वाधिक सस्तो छ तर यसबारे उपभोक्तामाझ तरंग उत्पन्न हुनु पर्ने थियो, त्यस्तो देखिएको छैन ।
नयाँ वर्ष २०७४ को अवसरमा टेलिकमले वैशाख २८ सम्म लागू गरेको अफरमा राति १० बजेदेखि बिहान ६ बजेसम्म कुरा गर्दा प्रतिमिनेट १० पैसा मात्रै लाग्छ । यो अफरलाई टेलिकमले २५० मिनेट २५ रुपैयाँमा उपलब्ध छ भनेर जानकारी दिएको छ ।
नेपाल टेलिकमले जिएसएम डाटा प्याकमा पनि निकै आकर्षक अफर दिएको छ । १ सय रुपैयाँको डाटा प्याक लिँदा ४ सय एमबी डाटा प्राप्त हुन्छ । अर्थात १ रुपैयाँमा एक एमबी डाटा । यो निकै सस्तो अफर हो नेपाली उपभोक्ताका लागि । त्यस्तै यदि २ सय रुपैयाँको प्याक लिने हो भने ८५० एमबी प्राप्त हुन्छ । त्यस्तै ३ सय रुपैयाँमा त १५ सय एमबी डाटा प्राप्त गर्न सकिन्छ । अर्थात एक रुपैयाँमा पाँच एमबी डाटा उपलब्ध हुन्छ । राति इन्टरनेट चलाउनेहरुका लागि त नेपाल टेलिकिमले झन्डै सित्तैको अफर दिएको छ । २ सय रुपैयाँ तिर्ने हो भने टेलिकमले ३ जिबी डाटा दिन्छ । एक जिबीमा १०२४ एमबी हुन्छ । त्यस्तै ३ सय रुपैयाँमा साढे छ जिबी डाटा उपलब्ध गराएको छ । यो अफर लिनेले महिनाभर चाहेजति इन्टरनेट चलाउन पुग्छ । लिमिटेड नै भए पनि व्यक्तिगत प्रयोजनका लागि साढे छ जिबी डाटा पर्याप्त हुन्छ ।
रिचार्जमा प्राप्त हुने बोनस रकम त धेरैलाई थाहा भएकै हो । सय र २ सयको रिचार्ज गर्दा १० प्रतिशत र ५ सय र १ हजारको रिचार्ज गर्दा १५ प्रतिशत बोनस नेपाल टेलिकमले अफरका रुपमा लागू गरेको छ ।