लेक लागेर बर्षेनी दुईजना पर्यटक ज्यान गुमाउँछन्
वैशाख १३ । हिमालपारिको जिल्ला मुस्ताङमा बर्षेनी दुईजना पर्यटकको लेक लागेर मृत्यु हुने गरेको छ । कागबेनीदेखि उपल्लो क्षेत्रमा पुग्ने पर्यटकको यसरी ज्यान गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
पछिल्लो समय एक महिनाअघि चैत १२ गते मुक्तिनाथ दर्शन गर्न पुगेका भक्तपुरका रामकृष्ण खत्रीको ज्यान गएको थियो ।
गत असोजमा दोलखाका राजाराम तामाङको ज्यान गएको प्रहरीको तथ्यांंकमा छ । दुवैजना मुक्तिनाथ दर्शन गरी फर्कने क्रममा अचानाक बेहोस भएर अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
मुस्ताङका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले उच्च क्षेत्रमा जाँदा आवश्यक सावधानी नअपनाउँदा पर्यटकले ज्यान गुमाउने गरेको बताए ।
“पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा लेक लागेर ज्यान गुमाउनेको संख्या विदेशी पर्यटक र नेपाली पर्यटक बराबर नै छन्”, उनले भने । मुक्तिनाथ क्षेत्रका स्थानीयवासीले मुक्तिनाथ स्वास्थ्यचौकीमा अक्सिजनको व्यवस्था गर्न माग गरेका छन् ।
गाउँमुखिया सुरज गुरुङले स्वास्थ्यचौकीमा अक्सिजन नहुँदा मुक्तिनाथ दर्शन गर्न आउने धार्मिक पर्यटकले अकालमा ज्यान गुमाउनु परेको बताए ।
धार्मिकस्थल मुक्तिनाथसहित कागबेनी, दामोदरकुण्डलगायत मुस्ताङको प्राकृतिक सुन्दरताका कारण बर्षेनी हजारौँ पर्यटक दर्शन र भ्रमणका लागि आउने गरेका छन् ।
एक वर्षमा मुस्ताङमा ४० हजारभन्दा बढी बाह्य पर्यटक भ्रमणका लागि भित्रिएको अन्नपूर्ण संरक्षण आयोजनाले जनाएको छ ।
high altitude sickness