पर्यटन

म्याग्दीका १४ ठाउँमा तातोपानीका मुहान भेटिए

म्याग्दीका १४ ठाउँमा तातोपानीका मुहान भेटिए
वैशाख - १३ । बेनी नगरपालिकासहित म्याग्दीका विभिन्न १४ स्थानमा मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका मुहान परेका छन् । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ सिंगा तातोपानीको म्याग्दी नदी किनारमा मात्रै पाँचवटा तातोपानीका मुहान भेटिएको सिंगा तातोपानीकुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो । यस तातोपानीकुण्डमा डुबेर स्नान गरेमा बाथ, ग्यास्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्ता कठिन रोग निको हुने जनविश्वास छ । त्यही विश्वासका कारण वार्षिक २० हजारको हाराहारीमा त्यस्ता बिरामी डुबेर स्नान गर्न यहाँ आउने गर्छन् । तातोपानीमा रहेका अन्य मुहानलाई पनि व्यवस्थित गर्नुपर्ने शाक्यले बताए । त्यसैगरी मुदीको बगर, दरवाङको भालेबास्ने ताल, भुरुङतातोपानी, हिस्तान, दानाको कालीगण्डकी किनारमा गरी अन्य नौवटा तातोपानीका मुहान फेला परेका स्थानीयवासीले बताएका छन् । म्याग्दी र कालीगण्डकी नदीको बगरमा रहेका यी तातोपानीका मूलबाट नै गन्धक र बिरेनुनको गन्धसहितको ५० देखि ५८ डिग्री सेल्सियससम्मको तातोपानी निस्कने गर्छ । सिंगातातोपानी, भुरुङतातोपानी, दाना र मुदीको तातोपानीको मुहानलाई व्यवस्थित रुपमा पोखरी निर्माण गरी सङ्कलन गर्ने गरिएको छ भने अन्य ठाउँमा रहेका तातोपानीका मुहानलाई व्यवस्थित गर्न सकिएको छैन । म्याग्दीमा रहेका यस्ता प्राकृतिक तातोपानीका मुहानलाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सक्ने हो भने वर्षेनी ठूलो सङ्ख्यामा पर्यटक यहाँ आउने सम्भावना रहेको नेकपा (एमाले) म्याग्दीका सचिवालय सदस्य राजकुमार थापाले बताए ।

विशेष