अपराध सुरक्षा

ओमानमा नेपाली महिला बेच्ने गिरोह सक्रिय

ओमानमा नेपाली महिला बेच्ने गिरोह सक्रिय

वैशाख १५ । वैदेशिक रोजगारको प्रलोभनमा पारेर नेपाली युवतीलाई १ लाखभन्दा बढी रुपैयाँ लिई बिक्री गर्ने गिरोहका चार सदस्य पक्राउ परेका छन् ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्ली हुँदै नेपाली युवतीलाई ओमान पुर्‍याएर बिक्री गरेको अभियोगमा तोकबहादुर तामाङ, मेदनीप्रसाद प्रसाईँ र निमा लामालाई पक्राउ गरेको हो । यसअघि नै सोही गिरोहका विष्णु लामा पक्राउ परेका थिए । ब्युरोकी एसपी मीरा चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुले नेपालका विभिन्न नाकाबाट भारतको दिल्ली पुर्‍याएर हवाईमार्ग हुँदै युवती ओमान पठाउने गरेको बताएका छन् । यसबापत उनीहरुलाई ओमानको दलालले प्रतिमहिला १ लाख ३० हजार रुपैयाँ दिने गरेको खुलेको छ, चौधरीले भनिन् ।

पक्राउ परेकाहरु नेपालमा बसेर वैदेशिक रोजगारीमा जाने प्रयासमा रहेका महिला खोज्ने, उनीहरुलाई राम्रो कामको प्रलोभनमा पारेर ओमान जान राजी गराउने र राहदानी बनाएर भारतको दिल्लीसम्म पठाउन सक्रिय थिए । दिल्ली पुगेका महिलालाई हवाई यात्राको टिकट मिलाएर ओमान पठाउने समूह र घरेलु कामदारको आवरणमा बिक्री गर्ने ओमानमा सक्रिय समूहका सदस्य भने भेटिएका छैनन् ।

ब्युरोका अनुसार पक्राउ परेकामध्ये सिन्धुपाल्चोक सीपापोखरीका सरोज भनिने तोकबहादुरले वैदेशिक रोजगारीमा जान चाहने महिलालाई काठमाडौंमा ल्याएर होटलमा राख्ने र राहदानी बनाइदिएर पठाउने गर्दै आएका थिए। झापाका मेदनीले सरोजले पठाएको राहदानी संकलन गर्ने र काठमाडौं दिल्लीको टिकट मिलाउने काम गर्थे। सिन्धुपाल्चोक मार्मिङका निमाले महिलाको विवरण र राहदानी कुरियर गरेर दिल्ली पठाउने गर्दै आएका थिए ।

नागरिक

Giroha

विशेष